१– रुसमा सर्वहारा वर्गको नेतृत्वमा पुरानो क्यालेन्डर अनुसार १९१७ को २५ अक्टोबर र नयाँ क्यालेन्डर अनुसार ७ नवेम्बरमा समाजवादी क्रान्ति सम्पन्न भयो । सवै खाले सामन्ती अवशेषसहित पुँजीपतिवर्गका विरुद्ध परिलक्षित यो क्रान्ति विश्वक्रान्तिको इतिहासमा एक नयाँ युगको सूत्रपात थियो । यो वर्ष संसारभर महान् अक्टोबर क्रान्तिको शतवार्षिकी विभिन्न कार्यक्रमका साथ मनाउने काम भइरहेको छ ।

२– अक्टोबर क्रान्ति माक्र्सवादको सफल प्रयोग थियो । माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, सर्वहारा वर्गको राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका रुपमा माक्र्सवादको सैद्धान्तिक प्रतिपादन गर्नुभएको थियो । लेनिनले रुसी धर्तीमा सफलतापूर्वक माक्र्सवादको प्रयोग गर्नुभयो र यस क्रममा माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादका रुपमा विकसित समेत तुल्याउनु भयो ।

३– सोभियत रुसमा सम्पन्न महान् अक्टोबर क्रान्तिको सफलताले सिङ्गो विश्वलाई प्रभावित तुल्यायो । यस ऐतिहासिक घटनाबाट प्रभावित भई एकातिर विश्वका बाँकी विभिन्न देशहरुमा कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया तिव्र गतिमा अगाडि बढ्यो भने अर्कोतिर सर्वहारा वर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्तिको तयारीको प्रक्रिया पनि सशक्त ढङ्गले विकसित हुँदै गयो । यसै क्रममा हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा पनि कम्युनिस्ट पार्टीको स्थापना भयो । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भए पश्चात् नेपालमा पनि आजकै दिन अर्थात् २००६ साल वैसाखमा लेनिनको जन्मदिन २२ अप्रिलमा कम्युनिस्ट पार्टीको स्थापना हुन पुग्यो ।

४– रुसमा १९१७ फरबरीमा पुँजीवादी क्रान्ति सम्पन्नभयो । बोल्सेविक पार्टी अस्थायी सरकारमा सामेल भएन । लेनिनले प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र सरकारको दृढतापूर्वक विरोध तथा भण्डाफोर गर्दै समाजवादी क्रान्तिको तयारीमा विशेष जोड दिनुभयो । अन्ततः वहाँले “सारा सत्ता सोभियतहरुको हातमा” भन्ने नारा दिनु भयो । सशस्त्र दस्ता र सेनाका क्रान्तिकारी सिपाहीहरुलाई संगठित तुल्याउँदै सशस्त्र जनविद्रोह मार्फत् महान् अक्टोबर क्रान्ति सम्पन्न गर्नुभयो । यस क्रान्तिले बुर्जुवा जनवादमाथि धावाबोल्दै तथा त्यससित सम्बन्ध विच्छेदगर्दै सर्वहारा जनवाद अर्थात् सर्वहारावर्गको अधिनायकत्वलाई जन्मदिई विश्व इतिहासमा नयाँ युगको उद्घाटन ग¥यो ।

५– रुसमा समाजवादी क्रान्ति सम्पन्न हुनुका पछाडि लामो आत्मगत तयारीको महत्वपूर्ण भूमिका रहेको छ । लेनिनले एकातिर क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र अर्कोतिर क्रान्तिकारी पार्टी अनिवार्य रुपमा आवश्यक हुने कुरा वताउनु भएको थियो । यस निम्ति वहाँले माक्र्सवादको रक्षा, प्रयोग तथा विकासका साथमा संशोधनवादको विरोध तथा भण्डाफोर गर्नुभयो । यस सन्दर्भमा वहाँले एकातिर दोस्रो अन्तराष्ट्रियका संशोधनवादीहरुसित सम्बध विच्छेद गरी नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माण गर्नु भयो भने अर्कोतिर पार्टीभित्र विद्यमान दक्षिणपंथी, मध्यपंथी तथा उग्रवामपंथी प्रवृत्तिका विरुद्ध कडा विचारधारात्मक संघर्ष पनि चलाउनु भयो ।

६– महान् अक्टोबर क्रान्तिका लागि पहिलो सामाज्यवादी विश्वयुद्धका बिचवाट वस्तुगत आधार तयार बन्दै गएको थियो । लेनिनले एकातिर संकटग्रस्त साम्राज्यवादको सही विश्लेषण गर्नु भयो भने अर्कोतिर परस्पर युद्धरत साम्राज्यवादीहरुका विचको अन्तरविरोधलाई सही ढंगले संश्लेषण गर्दै साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्ने नीति अवलम्वन गर्नुभयो । यसरी संकटग्रस्त साम्राज्यवाद तथा सर्वहारा क्रान्तिका विशेषतालाई सही ढंगले आत्मसात गरियो र क्रान्तिको सही कार्यदिशा, रणनीति एवम् कार्यनीति निर्धारण गरी कार्यान्वयन तथा प्रयोगमा जाने काम भयो ।

७– रुसमा पुँजीवादी जनवादी र समाजवादी क्रान्ति एक अर्काका कडीका रुपमा विकसित तथा सम्पन्न भए । रुसमा सम्पन्न पुँजीवादी जनवादी क्रान्तिका मूल कार्यभार राजतन्त्र, सामन्ती वर्गभेद, सामन्ती भूस्वामित्व, महिला, जातीय एवम् धार्मिक उत्पीडन सहितका मध्ययुगीन अवशेषहरुको अन्त्यगरी जनताको जनवादी राज्यसत्ता स्थापनागर्नु थियो । अक्टोबर क्रान्तिले फरवरी क्रान्तिमा पुरा हुन नसकेका ती कार्यभारलाई पूर्णता प्रदान गर्नुका साथै सम्पूर्ण जमिनको राष्ट्रियकरण, पूँजीपति वर्गको संपत्ति कब्जा, कलकारखाना, रेलवे एवम् ब्याङ्कहरुलाई सम्पूर्ण जनता तथा सार्वजनिक सम्पत्तिमा परिणत ग¥यो र पूँजीपतिवर्गको राज्यसत्तालाई ध्वस्तपारी मजदुरवर्ग, गरीव किसान सहितको समाजवादी राज्यसत्ताको निर्माण ग¥यो र समाजवाद निर्माणको प्रक्रियालाई अगाडि वढायो ।

८– लेनिनको निधन पश्चात् स्तालिनको नेतृत्वमा समाजवाद निर्माणको प्रक्रिया विकसित हुँदैगयो । आन्तरिक र बाह्य दुवै प्रकारका खतरासित जुध्दै कतिपय कमी, कमजोरी र सीमासहित स्तालिनले एकातिर रुसमा समाजवादको निर्माण र अर्कोतिर अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसै क्रममा दोस्रो विश्वयुद्धमा फासिवादका विरुद्धको लडाइँमा शानदार विजय हासिलगर्दै समाजवादको रक्षा समेत गर्नु भयो । यसै सिलसिलामा चीन, भियतनाम, कोरिया तथा पूर्वी योरोप सहितका देशहरु पुँजीवादी क्रान्ति सम्पन्न गर्दै समाजवादतर्फ अघिबढे ।

९– स्तालिनको निधन पश्चात् सोभियत रुसमा आधुनिक संशोधनवाद विजयी बन्यो र समाजवादी रुस सामाजिक साम्राज्यवादमा बदलियो । माओले एकातिर आधुनिक संशोधनवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै अन्तराष्ट्रिय कम्युनिस्ट अन्दोलनलाई दिशाबोध गर्नुभयो भने अर्कोतिर चीनमा महान् सर्वहारा सास्कृतिक क्रान्तिका बिचवाट समाजवाद निर्माणको प्रक्रियालाई अगाडि बढाउनु भयो ।

१०– गम्भीर दुःखको कुरा, अनेकांै वस्तुगत तथा आत्मगत जटिलता, साम्राज्यवाद तथा दक्षिणपंथी संशोधनवादद्वारा चौतर्फी हमला र क्रान्तिकारी कम्युनिस्टहरुद्वारा तिनको सामना गर्न नसक्नुको कारण समाजवादले गंभीर धक्का र पराजय भोग्नु प¥यो । क्रान्तिका विरुद्ध प्रतिक्रान्ति विजयी बन्यो । नाम मात्रको भए पनि सोभियत रुस समेत ढल्यो । विश्वमा साम्राज्यवादी र प्रतिक्रियावादीहरुले इतिहास तथा साम्यवादको अन्त्य र पुँजीवाद विजयी बनेको दुन्दुभी बजाए ।

११– यद्यपि आज विश्वमा नवउपनिवेशवाद तथा नवउदारवादका साथमा भूमण्डलीकृत साम्राज्यवादको हैकम तथा उत्पीडन प्रभावी रहेको छ र अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि कमजोर अवस्थामा छ । आज विश्व र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद प्रमुख खतरा रहेको छ । परन्तु, यो अस्थायी र क्षणिक कुरा हो । अहिले साम्राज्यवाद एकातिर गंभीर आर्थिक, राजनीतिक तथा सांस्कृतिक संकटमा फँस्तै तथा दुई वा बहुध्रुवीय अन्तर्विरोधहरुमा जेलिदै गएको छ भने अर्कोतिर विश्वमा राष्ट्रिय मुक्ति, जनवादी तथा समाजवादी आन्दोलन पनि आफ्नो गतिमा विकसित हुँदै गएका छन् । नयाँ अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको निर्माणको दिशामा पनि विभिन्न रुपमा आवश्यक पहल भइरहेका छन् । आज विश्वमा क्रान्ति र कम्युनिस्ट आन्दोलन बक्रगतिमा विकसित हुँदै गइरहेको छ । अहिले जेजति जटिल समस्या देखिए पनि अन्ततः संकटग्रस्त साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद नै हो र त्यसको भविष्य समुज्ज्वल छ । इतिहासको द्वन्द्ववादले यही कुरा बताउँछ । नेपालका सन्दर्भमा पनि यही नै सत्य हो ।

१२– कम्युनिस्ट पार्टीको स्थापना भएयता विभिन्न आन्दोलनहरुका बिचवाट जनतामा साम्यवादको प्रभाव सशक्त रुपमा पर्दै आएको छ । देशमा विभिन्न जन आन्दोलन तथा दशवर्षको जनयुद्धको प्रक्रियामा जनताका छोराछोरीले ठुलो मात्रामा सहादत प्राप्त गरेका छन् । परन्तु, दक्षिणपंथी संशोधनवादको प्रभाव, विभाजन तथा क्रान्तिकारीहरुका कमी एवम् सिमाका कारण आन्दोलनमा गुणत्मक उपलव्धि हासिल गर्न सकिएको छैन । फलतः जनताको जनवादी राज्यसत्ताको स्थापना हुन सकेन । आज विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गए पनि आत्मगत स्थिति भने कमजोर नै रहेको छ ।

१३– आज हामी पार्टी स्थापना दिवसको ऐतिहासिक अवसरमा महान् अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी विभिन्न कार्यक्रमका साथमा मनाउँदै अघि बढिरहेका छौ । यो वेला हामी विगतका समाजवादी तथा जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासका सबल तथा दुर्बल पक्षको गंभीर समीक्षागर्दै तथा विगतका अनुभवहरुवाट आवश्यक शिक्षालिँदै आफ्नो ऐतिहासिक दायित्व निर्वाहगर्ने दिशातर्फ दृढतापूर्वक अगाडि बढ्न जरुरी छ ।

१४– माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नु, सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायलाई एकताबद्ध तुल्याउनु, नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि आवश्यक तयारीमा लाग्नु र नयाँ कम्युनिस्ट अन्तराष्ट्रिय पुनः संगठित गर्नका लागि जोडदिनु– यी नै आज हामीलाई इतिहासले सुम्पेका विशिष्ट कार्यभार तथा दायित्व हुन् । यस प्रकारका ऐतिहासिक कार्यभार तथा दायित्व निर्वाह गर्नका लागि हाम्रो पार्टी दृढ प्रतिबद्धता जाहेर गर्दछ । ठिक यहींनेर नै महान् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम आयोजना तथा सम्पन्न गर्नुको औचित्य वा सार्थकता सन्निहित छ । महान् अक्टोबर क्रान्तिको रातो झण्डा अपराजेय छ । आउनुहोस्, दृढतापूर्वक अगाडि वढौ ! महान् अक्टोबर क्रान्ति – जिन्दावाद ! दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र संशोधनवाद – मुर्दावाद ! सर्वहारा अन्तर्राष्ट्रियतावाद – जिन्दावाद !

(९ वैशाख २०७४ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले अक्टोबर क्रान्तिको शतबार्षिकीको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र)

प्रतिक्रिया

सम्बन्धित खवर