एसईईको कपी चेकमा समेत राजनीतिकरण

एसईईको कपी चेकमा समेत राजनीतिकरण

ललितपुर । एसईई परीक्षा कपी चेकमा समेत भद्दा राजनीतिकरण भएपछि विषयगत अग्रणी शिक्षकहरु रुष्ट बनेका छन् । जिल्ला शिक्षा कार्यालय ललितपुरका अधिकृत शान्तिराम पौडेल, जो एमालेका सक्रिय कार्यकर्ताको रुपमा चिनिन्छन्, ले आफ्नो पार्टी निकटका शिक्षकहरुलाई मात्रै कपी चेकमा सहभागी गराएको भन्दै अन्य पार्टी निकटका शिक्षकहरु र स्वतन्त्र शिक्षकहरुले तीव्र असन्तुष्टी जनाएका छन् ।

मूलबाटोलाई प्राप्त जानकारी अनुसार ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बुधबार अग्रणी विषयगत शिक्षकहरुलाई भेला गराएर कपी चेकबारे ब्रिफिङ गरेका थिए । जस अनुसार कपी वितरण विहीबार नौं बजेदेखि सुरु गर्ने भनिए पनि ११ बजेबाट सुरु भएको थियो । अधिकृत पौडेलले आफ्नो पार्टी निकटका शिक्षकहरुको नाम मात्र बोलाउँदै कपी दिन थालेपछि अरु शिक्षकहरु विरोधमा उत्रिने तयारी गरिरहेको बुझिएको छ । ललितपुरको श्रमिक शान्ति उमावि च्यासलमा पूर्वाञ्चल र पश्चिमाञ्चलका मिश्रित कपीहरु यस सेन्टरमा परेका छन् । अड्ग्रेजी, गणित, विज्ञान र नेपाली विषय मात्र कपी वितरण गर्ने भनिएको भए पनि सबै विषयका कपीहरु वितरण गरिएको छ ।