रुसका मुख्य विपक्षी नेतासहित करिब ५ सय गिरफ्तार

रुसका मुख्य विपक्षी नेतासहित करिब ५ सय गिरफ्तार

एजेन्सी । रुसका मुख्य विपक्षी नेता एलेक्सी नाभाल्नीसहित करिब ५ सय पक्राउ परेका छन् ।

उनलाई भ्रष्टाचारविरोधी एक प्रदर्शनका क्रममा मस्कोबाट पक्राउ गरिएको हो । राजधानी मस्कोमा प्रदर्शनमा उत्रिएका बेला विपक्षी नेता नाभाल्नीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रदर्शनकारीले उनलाई पक्राउ गरी लग्दै गर्दा प्रहरीबाट खोस्ने प्रयास गरेपनि सफल हुन सकेनन् । नाभाल्नी रुसमा आफ्नो भ्रष्टाचारविरोधी अभियानका लागि चर्चित छन् ।

उनले सत्तानजिक रहेका अधिकारीहरुलाई निशाना बनाउँदै यस्तो अभियान सञ्चालन गर्ने गरेका छन् ।

यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिन खोजेपनि एक घटनामा दोषी ठहर भएपछि त्यसबाट बञ्चित भएका थिए । नाभाल्नीले भने यसलाई राजनीतिबाट प्रेरित घटना भएको बताउँदै आएका छन् ।

आफ्नो गिरफ्तारीपछि एक ट्विट गर्दै उनले साथी प्रदर्शनकारीलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘साथीहरु म ठीक छु । मलाई बाहिर निकाल्नका लागि केही गर्न जरुरी छैन । मस्कोका सडकमा निस्कनुहोला । हाम्रो मुद्दा भ्रष्टाचार विरुद्धको लडाई हो ।’
यसलाई सन् २०११÷१२ पछिको सबैभन्दा ठूलो आन्दोलनका रुपमा लिइएको छ ।