सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) भेरी–कर्णाली राज्यमा कार्यरत केन्द्रीय सदस्यहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट पलायन भएका र माओवादी केन्द्रसँग आत्मसमर्पण गर्न पुगेका क्रान्तिकारी माओवादीका तात्कालीन केन्द्रीय सदस्य धनजित शाही (आदर्श) लगायतले छरेको भ्रममा नपर्न कार्यकर्ता र जनताको पंक्तिमा अपील गरेका छन् । पार्टीको भेरी–कर्णाली राज्यमा कार्यरत केन्द्रीय सदस्यहरु चक्रपाणी शर्मा, दीपकबहादुर शाही र राजबहादुर कुंवरले एक संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपील गरेका हुन् । उनीहरुले शुक्रबार जारी गरेको वक्तव्यमा “केही व्यक्तिको पलायनलाई अतिरञ्जित गरी भेरी–कर्णाली राज्यमा क्रान्तिकारी माओवादी रित्तिएको जस्ता झूठ प्रचारप्रसार गरिएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” उल्लेख गरिएको छ, “सिद्धान्त र विचारमा अड्न नसकेपछि पलायन एउटा स्वभाविक प्रक्रिया हो ।”
सिद्धान्त र विचारबाट विचललित भएर षड्यन्त्रमूलक ढंगबाट माओवादी केन्द्र सामु आत्मसमर्पण गर्न पुगेका केही व्यक्तिहरुको हवाला दिएर भेरी कर्णाली र ६ नं. प्रदेशमा क्रान्तिकारी माओवादी नरहेको भन्ने जस्ता भ्रामक प्रचारबाजीमा विश्वास नगर्न र यस्ता आत्मसमर्पणवादी प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण नेता कार्यकर्ताहरुमा उनीहरुले हार्दिक अपील समेत गरेका छन् । उनीहरुले वक्तव्यमा भनेका छन्, “निहीत स्वार्थ भएका केही व्यक्तिहरुको पलायनलाई आन्दोलन र क्रान्तिका नकारात्मक पाटोको रुपमा ग्रहण गर्दै सिद्धान्त, विचार र पार्टीको कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण कमरेडहरुमा हार्दिक आव्हान गर्दछौं ।”