काठमाडौं । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा संसदमा रहेका २७ दल बाहेक अरु दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ ।
संसदमा भएका दलले एउटै चुनाव चिन्हमा चुनाव लड्न पाएपनि अन्य दलले अब स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने प्रावधान राखिएको हो ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलका उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने र दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ ।
उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न प्रदान गर्ने उल्लेख छ ।
स्थानीय चुनाव प्रयोजनका लागि १ सय १४ दलले भाग लिन पाउने निर्वाचन आयोगले जनाएको छ । जसमा संसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने छ ।
यस व्यवस्थाको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले विरोध जनाएको छ । भट्टराई नेतृत्वको दलले निर्वाचन आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ ।