काठमाडाैं । आज नेकपा (क्रान्तिकारी माओवादी) ले साँस्कृतिक प्रतिरोध दिवस मनाउँदैछ ।
तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सेल्टर लिएको घर घेरा हाली राज्यपक्षले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ ।
२०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेको बेला कलाकारहरु च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुवँर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई प्रहरीले सामूहिक हत्या गरेको थियो ।
चैत ५ लाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अखिल नेपाल जनसांस्कृतिक संघले ‘सांस्कृतिक प्रतिरोध दिवस’ का रूपमा मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रमका साथ सांस्कृतिक प्रतिरोध दिवस मनाउन लागिएको हो ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको छ । क्रान्तिकारी माओवादीले काठमाडौंमा मार्चपाससहितको जनसभाको आयोजना गर्दैछ ।
‘कञ्चनपुर र सप्तरी हत्याकाण्डको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं !! भन्ने नाराका साथ आरम्भ हुने सो युवा मार्चपास खुल्लामञ्चबाट सुरु भएर जमल, महेन्द्र शालिक, काठमाडौं प्लाजा, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने छ ।
सभालाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सम्बोधन गर्ने कार्यक्रम छ ।































