केन्यामाथि नेपालको ७ विकेटको शानदार जित, बलिङ ब्याटिङ ब्याटिङमा सुधार

केन्यामाथि नेपालको ७ विकेटको शानदार जित, बलिङ ब्याटिङ ब्याटिङमा सुधार

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्यासँगको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो ।

एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई हराएको यो पहिलो पटक हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए ।

ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले साथ दिए । आफ्नो दोस्रो खेलमा नै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाए ।

सुरुवाती दुई विकेट सस्तैमा खसेपछि दबाबमा आएको नेपालको इनिङ ज्ञानेन्द्र र ऐरीले सम्हाले । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि ३१ रन चाहिएको थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले ११ बलमा २४ रन बनाए । उनले ३० ओभरको पहिलो बलमा चौका र दोस्रोमा छक्का हान्दै नेपाललाई जिताए । अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वर्षा गरेको थियो । ‘गेम फिनिसर’ का रूपमा परिचित शरदले महत्वपूर्ण भूमिका निभाए ।

केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभर बलिङ गर्दै २८ रन दिएका थिए ।

मेहेबुब आलमले उत्कृष्ठ बलिङ गर्दै सात ओभरमा ११ रन दिएर पाँच मेडन राख्दै दुई विकेट लिए । यसैगरी स्पिनर वसन्त रेग्मीले पनि दुई विकेट लिए भने सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

मेहेबुबले सुरुमै दुई विकेट लिएपछि केन्या दवावमा आएको थियो । तर करिम र ओबुयाले चौंथो विकेटका लागि ७९ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । सन्दिप लामिछानेले सो पार्टनरसिप तोडेपछि केन्या पुनः धरासायी बन्न पुगेको थियो ।
यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच हो ।