मुलुकको पछिल्लो स्थितिबारे देजमो, नेपालको धारणा सार्वजनिक

मुलुकको पछिल्लो स्थितिबारे देजमो, नेपालको धारणा सार्वजनिक

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मुलुकको पछिल्लो स्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले ३० फागनु ०७३ मा जारी गरेको वक्तव्यको पूर्ण पाठ यस्तो छ ः “नेपालको समग्र परिस्थिति जटिल मात्र होइन, विकराल बन्दै गएको छ । गत एक हप्ताका घटनाक्रमलाई मात्र नियाल्ने हो भने पनि यो कुरा स्पष्ट देख्न सकिन्छ । कंचनपुर जिल्लाको आनन्द नगरमा सामान्य ढल बनाउने विषयमा भएको विवादमा भारत सरकारको सीमा सुरक्षा बलले दिन दहाडै गोली चलाएर देशभक्त नेपाली युवकको हत्या गर्नु र नेपाल सरकारले त्यसका बिरोधमा चुँसम्म गर्न नसक्नुले हाम्रो देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता कुन अवस्थामा पुगेको रहेछ भन्ने कुरा छर्लंग भएको छ र यो गठबन्धन सरकार भारतको कठपुतली हो भन्ने कुराको पुनः पुष्टि भएको छ । राजबिराजमा नेपाल सरकारको प्रहरीले दिन दहाडै चलाएको गोलीबाट पाँच जना नेपालीको ज्यान जानुले कथित लोकतन्त्रको पोल पनि खुलेको छ र यो सरकारलाई जनहत्याको कलंक लागेको छ । भर्खरै एन्सेल कम्पनीलाई राजस्व छुट दिने किसिमको निर्णयले भ्रष्टाचारमा यो सरकार कसरी चुर्लुम्म डुबेको छ भन्ने कुरा पुनः स्पष्ट भएको छ । महाभुकम्प पीडितको स्थिति कति नाजुक छ भन्ने कुरा दिनदिनैका समाचारमा आइनै रहेका छन् ।

यी सबै समस्या र बिकृतिको समाधान पट्टि लाग्नुपर्ने वर्तमान अवस्थामा यो सरकारले २०७४ साल बैसाख ३१ गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ । यो राज्यसत्ता पश्चगामी छ र जारी गरिएको संविधान पनि पश्चगामी नै छ । यो संविधानले स्वीकारेको संघीयतासंग मिल्दो किसिमको निर्वाचन त हुनु पर्दथ्यो । तर, त्यो नभएर प्रदेशको टुंगो नलाग्दै पहिले स्थानीय निर्वाचन गर्ने निर्णयले संघीयता समाप्त हुने स्पष्ट देखिन्छ ।

एउटा पश्चगामी व्यवस्थाअन्तर्गतका निर्वाचनलाई उपयोग वा बहिष्कार गर्ने कुरा कार्यनीतिको विषय हो । राष्ट्र, जनता र क्रान्तिका लागि जे गर्दा सहि हुन्छ क्रान्तिकारीले त्यही निर्णय गर्दछन् । त्यो कुरा त्यतिखेरको परिस्थितिमा निर्भर हुन्छ । विद्यमान् अवस्थामा यो सरकारले आयोजना गरेको निर्वाचनको कुनै औचित्यता छैन । त्यसकारण, हाम्रो क्रान्तिकारी संयुक्त मोर्चा देशका सबै सच्चा देशभक्त, जनगणतन्त्रवादीहरुसंग मिल्न सक्ने विषयमा संयुक्त मोर्चा वा कार्यगत एकता गर्दै संयुक्त संघर्षमा अघि बढ्नका लागि हार्दिक एवम् जोडदार आह्वान् गर्दछ । परिस्थितिमा आउने परिवर्तनसंग संगै अघि बढ्नका लागि तयारीमा जुट्न समेत हाम्रो मोर्चा आह्वान गर्दछ ।”