प्रकाशचन्द्र लोहनीले यसकारण छाडे राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रकाशचन्द्र लोहनीले यसकारण छाडे राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । पार्टी एकता महाधिवेशन सम्पन्न भएको १ महिनापनि नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो चिठी लेख्दै पार्टी त्याग गरेको जानकारी गराएका छन् । पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूतलगायतका राजनीतिक नियुक्ति सिफारिसमा एकलौटी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

लोहनी २०४७ सालमा पार्टी स्थापना भएयता निरन्तर विभिन्न तहमा रहेर काम गर्दै आएका थिए । राप्रपा विभाजित भएर सूर्यबहादुर थापाको अध्यक्षतामा राष्ट्रिय जनशक्ति पार्टी बनेका बेला सहअध्यक्ष बनेका उनी केही समयअघि राप्रपाको राष्ट्रिय अध्यक्ष बनेका थिए ।

एकता महाधिवेशनपछि विधानलाई उपेक्षा गरेको, महाधिवेशनमा भएका समझदारी लत्याएको तथा पार्टीलाई स्वार्थपूर्तिको औजार बनाएको आरोप लगाउँदै उनले यस्तो अवस्थामा आफू पार्टीभित्र रहन नसक्ने उल्लेख गरेका छन् ।

लोहनीले पार्टीको झण्डा र चुनाव चिन्हका विषयमा यसअघि भएका सहमति तोडिएको दावी गरेका छन् । ‘पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा राप्रपा (नेपाल) को र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो,’ उनले भने, ‘त्यस प्रतिबद्धतालाई ठाडै लत्याइएको छ ।’

पार्टीले सरकारले पेस गरेको संविधान संशोधन विधेयकप्रति असन्तुष्टि जनाएको र सरकारबाट बाहिरिने स्पष्ट बताइसकेको अवस्थामा अध्यक्ष नै सरकारमा गएकोमा आलोचना गरेका छन् । ‘पार्टीभित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो,’ उनले भनेका छन्, ‘यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् ।’

मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारिसकेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा जानु दुर्भाग्यपूर्ण रहेको लोहनीको भनाई छ ।

लोहनीले सीमामा नेपाली मारिएकोलगायतका विषयमा पार्टीमा छलफल नगरी संकटको फाइदा उठाई सरकारमा गएर अवसरवादी चरित्र देखाएको उल्लेख गरे ।

लोहनीले एनसेललाई कर उन्मुक्तिमा साथ दिएको, तामाकोशी प्रकरण, राजदूत सिफारिस, दूतावासै नभएको देशमा राजदूत पठाएकोलगायतका विषयमा समेत असन्तुष्टि जनाएका छन् ।

‘राजसंस्था र हिन्दू धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग हुँदैछ,’ उनले पत्रमा भनेका छन्, ‘देश र जनताको हितका लागि कार्य गर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वासघात गर्नु हो । यसर्थ म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनु परेको हो ।’