भारतले कसैलाई चुनाव गराउ, कसैलाई बहिस्कार गर भनिरहेको छ : अध्यक्ष किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भारतले नेपालका राजनीतिक पार्टीहरु कसैलाई चुनाव गराउ र कसैलाई चुनाव बहिस्कार गर भनेर द्वैध नीति लिइरहेको दावी गरेका छन् । महासंघको शुक्रबार घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभाहलमा राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष किरणले यस्तो दावी गरेका हुन् ।

अहिलेको राज्यसत्तामा नोकरशाही दलाल पुँजीवादको प्रभुत्व रहेको चर्चा गर्दै अध्यक्ष किरणले प्रतिक्रियावाद र संशोधनवाद÷अवसरवादका विरुद्ध निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने बताए । कैयौं साथीहरु इमान्दार हुँदा हुँदै पनि भ्रममा परिरहेको उल्लेख गर्दै उनले ती साथीहरुलाई क्रान्तिकारी माओवादी आन्दोलनमा ल्याउन प्रतिक्रियावाद र संशोधनवाद÷अवसरवादको व्यापक रुपमा भण्डाफोर गर्नुपर्ने विषयमा जोड दिए ।

कतिपय अवस्थामा प्रतिक्रियावाद र संशोधनवाद सँगसँगै जोडिएर आउने गरेको प्रशंग उल्लेख गर्दै अध्यक्ष किरणले प्रतिक्रियावादी र संशोधनवादीहरुले फिंजाएको भ्रमलाई चिरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढ्नु पर्ने  स्पष्ट पारे ।

देशैभरिबाट महासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त भेलाको अध्यक्षता ईश्वरचन्द्र ज्ञावालीले गरेका थिए भने कार्यक्रमको संचालन हिरामणि दुःखीले गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तथा पार्टीको नेवाः राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’, क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा अखिल नेपाल जनजाति महासंघका केन्द्रीय अध्यक्ष कमल चौधरी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत लगायतले शुभकामना मन्तव्य दिएको भेलालाई प्रा.डा. जगदिशचन्द्र भण्डारीले स्वागत गरेका थिए ।