भोलिबाट २० वर्ष पुराना गाडीले पाउने भएन सडकमा ठाउँ

भोलिबाट २० वर्ष पुराना गाडीले पाउने भएन सडकमा ठाउँ

१७ फागुन, काठमाडौं । २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए यातायाट व्यवस्था विभागले ट्राफिक प्रहरीलाई कारबाही गर्न आग्रह गर्दै पत्राचार गरेको छ ।

२० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘यसअघिको निर्देशन बमोजिम भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई भनेका छौं ।’

यसैबीच यातायात व्यवसायीहरुले २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् ।