न्युरोडको लुटपाट फिल्म जस्तो

न्युरोडको लुटपाट फिल्म जस्तो

१२ फागुन, काठमाडौं । मान्छे नै मान्छेले घेरिएको राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

घटना गत मंगलबारको हो । ग्लोबल आईएमई बैकबाट पैसाको ब्याग लिएर काका नारायण र भतिज विधान बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ ग¥यो ।

४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको अभियोग लगाइएको थियो । अख्तियार कार्यालय लाने भन्दै ६ जनाको समुहले काका र भतिजलाई ट्याक्सीमा राख्यो तर, अख्तियारको कार्यालय टंगाल होइन, डल्लु र्पुयायो ।

डल्लु र्पुयाएपछि खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै काका भतिजको पर्स लुटेर लग्यो ।

लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् ।

लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कोरियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् ।

नारायण मंगलबार विहान ११ बजे नै न्यूरोड पुगेका थिए । र, करिव २ः४५ बजेतिर बैंकमा पुगेका खराल काका भतिज उनीहरुको लुटको शिकार भए ।