आज प्रजातन्त्र दिवस, परिवर्तनको महसुस गणतन्त्रमा पनि भएन

आज प्रजातन्त्र दिवस, परिवर्तनको महसुस गणतन्त्रमा पनि भएन

काठमाडौं । आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

वि.सं. २००७ साल फागुन ७ गते १ सय ४ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्तिको घोषणा भएको थियो । सोही दिनको स्मरणमा फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाईदै आएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाली जनताले नेपाली धर्तीमा रहेको निरंकुशतालाई उखेलेर फाल्दै प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेपनि अझै परिवर्तनको महसुस भने गर्न सकेका छैनन् ।

प्रजातन्त्र प्राप्तिको लडाईमा विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुलाई तात्कालीन राणा शासकले मृत्युदण्डको सजाय दिएका थिए ।

नेपालमा प्रजातन्त्र ल्याउनका लागि प्रजापरिषदले सुरु गरेको अभियानमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले ठूलो भूमिका खेलेका थिए भने भूमिकाबिहीन बनाइएका राजा त्रिभूवनले समेत साथ दिएका थिए ।

राजा त्रिभूवनले २००७ साल फागुन ७ गते दिल्लीबाट फर्किएर प्रजातन्त्रको घोषणा गर्दै नेपालको शासन जनताद्वारा निर्वाचित जनप्रतिनिधिको संस्थाले बनाएको संविधानद्वारा जनता शासित भएको हेर्न चाहेको इच्छा व्यक्त गरेका थिए ।
फलस्वरुप पहिलो पटक जनप्रतिनिधिले देश सञ्चालन गर्ने अवसर पाएपनि त्यसलाई देशहितमा प्रयोग गर्न नसक्दा २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले वीपी कोइरालाको सरकारलाई अपदस्त गरी पञ्चायी व्यवस्थाको सुरुवात गरेका थिए ।

झण्डै ३० वर्षको पञ्चायती व्यवस्थाको अन्त्य गर्न पुनः २०४६ सालमा काँग्रेस र वाममोर्चाको संयुक्त पहलमा भएको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र आयो । जसमा राजालाई सीमिति अधिकार दिइएको थियो ।

तर राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई असक्षम घोषित गर्दै पुनः आफूलाई शक्तिशाली भूमिकामा ल्याउन खोजेपछि ७ राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यमा भएको २०६२÷६३ को जनआन्दोलनको परिणामस्वरुप राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भइसकेको छ ।
तर गणतन्त्रका आधारभूत मूल्य मान्यतामा दलहरु अडिन नसक्दा देश संकटपूर्ण अवस्थामा रहेको छ । सत्ताका लागि जस्तोसुकै कदम पनि चाल्ने र तीन दलीय सिन्डिकेटबाट गरिने हरेक निर्णयलाई जनताले मान्नुपर्ने दलीय निरंकुशताका कारण जनताले अझैपनि परिवर्तनको महसुस भने गर्न सकेका छैनन् ।