महाधिवेशनअघि नै कमल थापालाई सर्वसम्मत राप्रपा अध्यक्ष बनाउने सहमति

महाधिवेशनअघि नै कमल थापालाई सर्वसम्मत राप्रपा अध्यक्ष बनाउने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अघि नै कमल थापालाई अध्यक्ष बनाउने सहमति भएको छ ।

राप्रपाका नेताहरु थापालाई अध्यक्ष बनाउन सहमत भएका हुन् ।

राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाको फागुन ६ देखि ९ गतेसम्म एकता महाधिवेशन हुँदैछ ।

महाधिवेशनको पूर्वसध्यामा थापासँगै नेताहरु पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार देखिएका थिए ।

तर महाधिवेशनबाट पनि कमल थापा अध्यक्षमा निर्वाचित हुने लगभग निश्चित देखिएपछि राणा र लोहनी पछि हटेका हुन् ।

थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु लागेका थिए । बुधबार साँझ भएको शीर्ष नेताहरुको बैठकमा कमल थापालाई अध्यक्ष बनाउने सहमति जुटेको हो ।

थापालाई अध्यक्ष बनाउने सहमतिमा अध्यक्षका प्रत्यासी राणा र लोहनीसहित अर्का नेता लोकेन्द्रबहादुर चन्दले समेत हस्ताक्षर गरेका छन् । यससँगै अब राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ ।

राप्रपाको विधानअनुसार अब २४ सदस्यीय पदाधिकारी चयन हुनेछ । जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ता रहनेछन् । अध्यक्षबाहेकका सबै पदमा मनोनित हुने व्यवस्था छ ।

राप्रपाका चार शीर्ष नेताहरुले पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन महाधिवेशनलाई पारस्पारिक एकता, सद्भाव र सहमतिको आधारमा सम्पन्न गर्न सबैलाई आहृवान गरेका छन् ।

नेताहरुबीच पार्टीको विधानमा नीति निर्धारण तथा निर्देशन समिति गठन गर्ने सहमति पनि भएको छ । सो समितिमा राणा, चन्द, लोहनीसहितका वरिष्ठ नेताहरु हुनेछन् ।