पोखरा । पोखरा पृथ्वी चोक स्थित सस्तो बजारका व्यावसायीमाथि भएको आक्रमणका विरुद्धमा उत्रन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले अपील गरेको छ ।
महासंघका संयोजक इश्वर तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै स्वरोजगार व्यवसायी तथा मजदुरहरुलाई प्रतिरोधमा उत्रन अपील गरेका हुन् ।
करिब ५ बर्षदेखि सन्चालनमा रहेको सस्तो बजारका २१७ स्वरोजगार खुुुुद्रा व्यवसायी श्रमिकहरुमाथि राज्य प्रशासन र ठेकेदारद्वारा गरिएको दमन, धरपकड र रोजगारी खोस्ने दुष्प्रयासप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भनेको छ, “पोखरा पृथ्वी चोकस्थित झण्डै ५ बर्षदेखि सन्चालनमा रहेका सस्तो बजारका २१७ स्वरोजगार खुुुुद्रा व्यवसायी श्रमिकहरुमाथि राज्य प्रशासन र ठेकेदारद्वारा गरिएको दमन, धरपकड र रोजगारी खोस्ने दुष्प्रयासप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।”
बुधबार घटनालगत्तै जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “आफ्नो जायजेथा धितो राखेर लाखौं रुपैयां लगानी गरेका स्वरोजगार श्रमिक व्यवसायीहरुमाथि कथित ठेकेदारहरुको मिलेमतोमा श्रमिकहरुको रोजगारी खोस्ने र उनीहरुलाई विस्थापित गर्ने कार्यका लागि प्रहरी प्रशासन समेत संलग्न हुनुले सामान्य श्रमजीवि वर्गका लागि राज्य निकाय समेत क्रुरता पूर्वक प्रस्तुत हुने अवस्थामा प्रतिरोध बाहेक अन्य सबै ढोका बन्द भएको अवस्था देखा परिरहेको छ ।
अतः हाम्रो संगठन स्वरोजगार श्रमिकहरुको उचित व्यवस्थापनको मागलाई सम्बोधन गर्न जोडदार माग गर्दछौं । अन्यथा त्यसको सशक्त प्रतिवाद गर्नका लागि श्रमिकहरु, न्यायप्रेमी जनसमुदाय लगायत सबैमा हार्दिक अनुरोध गर्दछौं ।”
चारवर्ष अगाडि सडकपेटीमा स्वरोजगार व्यापार व्यवसाय गरेर जीविका चलाउँदै आएका श्रमजीविहरुले स्थानीय नगरपालिका, प्रशासनले नै निर्णय गरेर राखिएको सस्तो बजारमा विचौलियाले आफ्नो फाइदाका लागि स्वरोजगार व्यावसायीहरुलाई विस्थापित गराउन खोजेपछि पीडितहरु प्रतिरोधमा उत्रिएका छन् ।