क्रान्तिकारी माओवादीद्वारा बाइसौं जनयुद्ध दिवसको अवसरमा जारी प्रेस वक्तव्य

क्रान्तिकारी माओवादीद्वारा बाइसौं जनयुद्ध दिवसको अवसरमा जारी प्रेस वक्तव्य

“बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो ।”

हान जनयुद्धको २२ औं दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’द्वारा एक प्रेस वक्तव्य जारी गरिएको छ । पार्टीको मूल नेतृत्वमा पैदा भएको दक्षिणपन्थी अवसरवादी विचलनका कारण प्रत्याक्रमणको चरणमा पुगेको जनयुद्धले गम्भीर प्रकारको धक्का खान पुगेको उल्लेख गर्दै अध्यक्ष किरणले त्यस प्रकारको विचालनका विरुद्ध विद्रोह तथा सम्बन्ध विच्छेद् गरी नयाँ ढंगले अगाडि बढिरहेको विज्ञप्तीमा जनाएका छन् ।

उनले यस अवसरमा जनयुद्धका वीर अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता, घाइते योद्धा, सहिद तथा वेपत्ता परिवारजनप्रति विशेष सम्मान प्रकट गरेका छन् र भनेका छन्, “ यो बेला नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको खतरा उत्कर्षमा पुगेको छ । यस स्थितिमा बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो ।”

विज्ञप्तीको पूर्णपाठ यस्तो रहेको छ ः “आजको बाइस वर्ष अघि २०५२ फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक उद्घोष गरिएको थियो । सो जनयुद्धको उद्देश्य देशलाई अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नवउपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउँदै नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु थियो । दशवर्षसम्मको अवधिमा रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको दिशामा विकसित हुँदै गएको जनयुद्धले पार्टीको मूल नेतृत्वमा दक्षिणपन्थी अवसरवादी विचलन पैदा हुनुको कारण गम्भीर प्रकारको धक्का खान पुग्यो । हामी त्यस प्रकारको विचलनका विरुद्ध विद्रोह तथा सम्बन्ध–विच्छेद् गरी नयाँ ढंगले अगाडि बढिरहेका छौं ।

नेपालमा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा जनताका चौध हजार जति छोराछोरी, जनमुक्ति सेनाका वीर योद्धा र पार्टीका कैयौं नेता तथा कार्यकर्ताहरुले त्याग, वीरता र बलिदानका अद्भूत कीर्तिमान् कायम गरे । बाइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्दछौं । त्यसैगरी, घाइते अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दछौं । यसै क्रममा हामी सहिद तथा वेपत्ता योद्धका परिवारजनहरुप्रति पनि सम्मान व्यक्त गर्दछौं । साथै, हामी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सबै शुभेच्छुक, समर्थक तथा सहयोगी जनसमुदाय र भाइचारा पार्टीहरुसहित सम्पूर्ण पार्टी कमरेडहरुप्रति हार्दिक शुभकामना तथा क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।
आज विश्वमा र नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति कमजोर रहेको छ । नेपालमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ताकोे शोषण, उत्पीडन र हैकम बढ्दै जानुको साथै साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप पनि तीव्र बन्दै गैरहेको छ । यो बेला नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको खतरा उत्कर्षमा पुगेको छ । यस स्थितिमा बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो । यस प्रकारको उद्देश्य प्राप्त गर्नका निम्ति हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीको कार्यदिशा, नीति तथा कार्यक्रमलाई अझै समृद्ध तथा जुझारु तुल्याउँदै जान र विगतका गल्ती, कमी तथा कमजोरीहरुको वैज्ञानिक समीक्षा गर्दै आगामी दिनमा क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न आवश्यक छ ।
क्रान्ति आवश्यक र संभव दुवै छ । विचारधारात्मक, राजनीतिक तथा सांगठनिक रुपमा क्रान्तिको तयारीको दिशामा सिङ्गो पार्टीपङ्क्तिलाई अनुशासित, जुझारु तथा कृयाशील तुल्याउँदै अगाडि बढौं । बाइसौं महान् जनयुद्धको यस ऐतिहासिक अवसरमा सम्पूर्ण कमरेडहरु तथा जनसमुदायमा हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन तथा लाल सलाम !!”