काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को राष्ट्रिय भेला उद्घाटन गर्दै पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले संसदीय व्यवस्थाको धज्जी संसदवादीहरुले नै उडाइरहेको टिप्पणी गरेका छन् । संसदवादीहरुबीचको बढ्दो अन्तरविरोध र विभाजनले उनीहरुको संकट र संसदीय व्यवस्थाको असफलतालाई प्रतिबिम्बित गरेको भन्दै अध्यक्ष वैद्यले वस्तुगत रुपले क्रान्तिको बातावरण अनुकूल रहेपनि क्रान्तिकारीहरुको आत्मगत अवस्था कमजोर रहेकोले क्रान्ति केही पर धकेलिएको बताए ।

क्रान्ति गर्ने युवा पुस्ताले हो भन्दै अध्यक्ष बैद्यले भने, “युवाहरुले क्रान्तिको तयारी आजैबाट थाल्नुपर्छ ।” भारत, फिलिपिन्स र टर्कीमा संचालित माओवादी जनयुद्धले नेपालका क्रान्तिकारीहरुलाई क्रान्तिको तयारीको लागि प्रेरणा दिइरहेको उल्लेख गर्दै अध्यक्ष बैद्यले क्रान्तिका निम्ति क्रान्तिकारीहरुले आफ्नो आत्मगत अवस्थालाई सुदृढ तुल्याउनुपर्ने र आफूभित्र रहेको निम्नपुँजीवादी चिन्तनका विरुद्ध निर्मम बन्नुपर्ने आवश्यकता औल्याए ।
पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै अध्यक्ष वैद्यले अमेरिकी साम्राज्यवादको एकाधिकार विघटन उन्मुख रहेको र साम्राज्यवादीहरुबीचको अस्वस्थ अन्तरविरोध र चर्को प्रतिस्पर्धाले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने आँकलन गरे । विश्वभरि नै जाग्दै गइरहेका क्रान्तिकारीहरुले त्यसबाट फाइदा लिन तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुपर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले विध्यार्थी युवाहरुले क्रान्तिभित्र आफ्नो भविष्य देख्नुपर्ने बताए । ‘व्यक्तिगत जीवन परिपूर्ति गर्नु भविष्य होइन । क्रान्तिकारीहरुले क्रान्तिमा भविष्य देख्न सक्नपर्छ ।” उनले भने, “अभावको बीचमा पनि क्रान्तिको झण्डालाई उँचो राख्नेहरुको भविष्य उज्वल छ ।” क्रान्तिकारी युवाहरुले निरासा र निष्क्रियतालाई चिरेर अगाडि बढ्नुपर्ने आवश्यकतालाई औल्याउँदै अध्यक्ष गजुरेलले युवा विध्यार्थीहरुले क्रान्तिको विज्ञानलाई राम्रोसँग बुझ्नुपर्ने बताए । अब सरकारी अखिल (क्रान्तिकारी)को भविष्य नरहेको चर्चा गर्दै गजुरेलले व्यक्तिगत रुपमा जागिर र भत्ताको पछाडि दौडिने युवा विध्यार्थीहरुको होइन, अभावमा क्रान्तिको झण्डा उचाल्ने सडकको अखिल (क्रान्तिकारी)को भविष्य उज्जल रहेको चर्चा गरे ।

भेलालाई क्रान्तिकारी माओवादी निकट आदिवासी जनजाति महासंघका अध्यक्ष कमल चौधरी, बुद्धिजीविका अध्यक्ष हुकुमबहादुर सिंह, प्राध्यापकका अध्यक्ष प्रा.डा. जगदिश चन्द्र भण्डारी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञावाली, क्रान्तिकारी युवा लिग, नेपालको अध्यक्ष अमिर महर्जन‘आकाश’, शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य, अखिल नेपाल ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिम्सिना, अनेमसंघ (क्रान्तिकारी)की शारदा महत, प्रगतिशिल विध्यार्थी मञ्च भारतका विमल अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर