एजेन्सी । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुने भन्दै हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ ।
अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अहिले पनि व्याप्त छ ।
हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलंकाली नौसेनाका पूर्व सैनिक हुन् । सन् १९८९ मा तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धि श्रीलंकाको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा उनले जागिरबाट हात धुनुपरेको थियो भने सजाय समेत पाएका थिए ।
ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरी अगावै उनको मृत्यु हुने भनी हल्ला फैलाई ज्योतिषी विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोमा उनलाई पक्राउ गरिएको श्रीलंकाली प्रहरीले जनाएको छ ।
राष्ट्रपति सिरिसेनाको मृत्यु हुने भविष्यवाणी सहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबूक पेजमा थरी थरीका थुप्रै भिडियो क्लिप अपलोड गरेकापछि आम जन मानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलिएको थियो ।
यही क्रममा, विजयेमुनिले भित्रभित्रै कतै सैनिक बिद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षडयन्त्रको तानाबाना त बुनि रहेको छैन भन्ने आशङ्कामा सञ्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलंकाका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउन सक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।