भारतीय उडान चासो र एअर मार्सल

भारतीय उडान चासो र एअर मार्सल

हालसालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको भनिएको नेपाल र भारतका नागरिक उड्डयन निकायका प्रतिनिधिहरुका बीचमा भएको द्विपक्षीय बैठकमा मुख्य गरी हवाई उडान मार्ग सम्बन्धी विषयमा छलफल भएको भन्ने समाचारहरु बाहिर आएका छन् । तर उक्त बैठकमा भारतीय पक्षले पहिले निश्चित गरिएको विषयभन्दा थप विषय समावेश गरेर प्रस्तुत गरियो भन्ने समाचार समेत प्रकाशमा आएको छ । त्यसरी भारतीय पक्षले थप गरेका भनिएको विषय भारतीय नागरिक उड्डयनले उसका उडानहरुमा कार्यान्वयन गर्दै आएको एअर मार्सल अथवा उड्डयन सुरक्षाको विषय रहेको बताएको छ । त्यस विषयमा पनि खास गरेर भारतीय उडान अथवा त्यसमा संलग्न कुनै पनि हवाई जहाजलाई नेपालमा त्यो पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बास बस्न पर्ने वा रात बिताउन पर्ने अवस्था भएको उसका उड्डयन सुरक्षा बलका सदस्यहरुलाई बासस्थानको समेत व्यवस्था नेपाली पक्षले मिलाइदिनुपर्ने भन्ने विषयसँग सम्बन्धित रहेको भन्ने जानकारीमा आएको छ ।

यस विषयमा चर्चा गर्ने सन्दर्भमा चर्चा गर्दा एउटा घटनाको उल्लेख गर्नु सान्दर्भिक हुनेछ । भारतीय सरकारी ध्वजाबहाक इन्डियन एयरलाइन्सको जहाज जसलाई इण्डियन एअरलाइन्स फ्लाइट ८१४ अर्थात् आम रुपमा भन्नुपर्दा आईसी ८१४ ले चिनिने एअरबस ए३०० जहाजलाई हर्कत–उल–मुजाहिद्दिन भनिने संगठनले अपहरण गरेको थियो । त्यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । नेपालको त्रिभुवन विमानस्थलबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीका लागि उडानमा रहेको उक्त विमानलाई पहिला भारतीय शहर अमृतसर त्यसपछि पाकिस्तानको लाहोर अनि संयुक्त अरब इमिरेड्सको दुबई हुँदै आखिरमा अफगानिस्तानको कान्दाहर शहरमा रहेको विमानस्थलमा अवतरण गराइएको थियो । उक्त अपहरणको उद्देश्य भनेको भारतका जेलमा बन्दी बनाइएका इस्लामवादी कार्यकर्ताहरुको रिहा गराउनु रहेको थियो । इन्डियन एअरलाईन्सको सो विमान अपहरणकाण्डपछि भारतीय पक्षले आफ्ना नागरिक उड्डयनका विमानहरुमा एअर मार्शल अथवा उडान सुरक्षा बलको प्रयोग गर्दै आएको छ । त्यस अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण सुरक्षा जाँच प्रक्रियाहरु पूरा भएपछि पनि भारतीय उड्डनका विमानहरुमा उडानका लागि प्रवेशभन्दा अगाडि यात्रुहरुको पुनः सुरक्षा जाँच गर्ने काम गरिन्छ ।

कुनैपनि देशले आफ्ना नागरिक उड्डयनमा संलग्न विमानहरुमा उसलाई सुरक्षामाथि धम्की रहेको महशुस भएमा जहाजभित्र सादा पोशाकमा हतियारधारी सुरक्षाबलका सदस्यहरु राख्ने प्रचलन भएको र उक्त विषय सम्बन्धित सबै विमानका मुख्य चालक वा क्याप्टेनलाई मात्र जानकारी हुने बताइन्छ । सोही प्रचलनअनुसार नै भारतीय पक्षले एअर मार्शलको व्यवस्था कार्यान्वयन गर्दै आएको देखिन्छ । त्यस्ता एयर मार्शल वा उडान सुरक्षाबलका सदस्यहरु दोस्रो वा तेस्रो देशका विमानस्थलको जमिनमा विमान अवतरण गरेपश्चात् पनि बाहिर निस्केर बस्ने गर्दैनन् र विमानभित्रै बस्ने गर्दछन् । तर अहिले आएर भारतीय पक्षले उसका नागरिक उड्डयन अन्तर्गत रहेका विमानहरुलाई नेपालका विमानस्थलमा बास बस्नुपर्ने वा रात बिताउनुपर्ने भएमा नेपाली पक्षले उनीहरुलाई विमानबाट बाहिर निस्किएर जमिनमै बासस्थानको व्यवस्था वा सुविधा प्रदान गर्नुपर्दछ भन्ने रहेको छ । त्यसले गर्दा उक्त विषयले गम्भीर छलफल सरोकारको अवस्था सिर्जना गरेको छ ।

सामान्यतः हवाई यात्रालाई अन्य यातायातका साधनभन्दा सापेक्षित रुपमा बढी सुरक्षित मानिने गरिएको छ । त्यसरी सुरक्षित मानिएको यातायातको साधनलाई आफ्ना निहीत स्वार्थ पूरा गराउन अपहरण गरी सर्वसाधारण नागरिक र यात्रुहरुको जीवनमा गम्भीर खतरा पु¥याउने घटनाहरु र हुँदै आएका परिघटनाहरुलाई मध्यनजर गर्दै उड्डयन यात्रालाई शतप्रतिशत सुरक्षित तुल्याउनका लागि आवश्यक उपायहरु अवलम्बन गर्नु अनुचित र अन्यथा मान्न सकिदैन र हुँदैन । तर, अहिले भारतीय पक्षले आफ्ना अडान सुरक्षाकर्मीलाई बासस्थानको व्यवस्था उपलब्ध गराउनुपर्ने मागको विरोध हुनु र विरोध गर्नुपर्ने खास कारणहरु छन् ।

त्यस सन्दर्भमा एउटा मुख्य कारकतत्व भनेको भारतीय विस्तारवादी शासकहरुले विगतदेखि आजसम्म नेपालप्रति अपनाउँदै आएको हेपाहा र थिचोमिचो गर्ने र नेपालको आन्तरिक मामलामा मसिनो प्रकारको व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)सम्म नै उत्रनु हो । त्यसक्रममा भारतीय शासकवर्गहरुले आफ्ना निकाय र संयन्त्रहरुमार्फत् चलखेल गर्ने बहानामा अनेकन राष्ट्रघाती चलखेल गर्ने र सिंधै सल्लाह, सुझाव एवं निर्देशन दिनका अलवा विभिन्न समयमा नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनमा त्यसले गम्भीर असर पार्ने खालका आर्थिक नाकाबन्दीहरु लागु गर्दै आएको छ । त्यसैगरी, नेपालमा विकास निर्माणका क्षेत्रमा काम गर्ने बहानामा अनेकन राष्ट्रघाती सन्धि सम्झौताहरु मार्फत् नेपालको राष्ट्रियता, स्वाधीनता, र सार्वभौमिकतामाथि आँच पु¥याउने र थिचोमिचो गर्ने कार्य गर्दै आएको छ । उसका यस्ता कार्य र क्रियाकलापका कारणहरुको पृष्ठभूमि रहेको अवस्थामा आम नेपाली जनता र नागरिकहरुमा सन्देह र वितृष्णाको मनोविज्ञान रहेको र विकास भएको छ । त्यसरी एउटा निकटस्थ छिमेकी देश रहनुका बाबजुद पनि आम नेपाली जनताहरुले भारतीय विस्तारवादी शासकहरुको परपीडक प्रवृत्तिप्रति व्यापक घृणाको दृष्टिले हेर्ने गरेका छन् ।  

त्यस सन्दर्भमा अर्को मुख्य कारकतत्व भनेको नेपाली शासक वर्गहरु त्यसमा खास गरेर ठूला भनिने पार्टीहरुका शीर्षस्थ नेतृत्वले आफ्नो सत्ता स्वार्थपूर्तिका लागि भारतीय शासक वर्गहरुको दलाली, चाकडी र चाप्लुसी गर्ने प्रवृत्ति जिम्मेवार रहेको छ । उनीहरुमा रहेको त्यसप्रकारका राष्ट्रघाती र जनघाती चरित्रका कारणले गर्दा भारतीय शासकवर्गले सजिलै हेप्ने र खेलवाड गर्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी नेपालका शासक वर्ग र राज्य संयन्त्रले अन्तर्राष्ट्रिय जगतलाई सामान्य सुरक्षाको सवालमा समेत विश्वस्त पार्न नसकेर उदांगिन पुग्नु हो । त्यसको ज्वलन्त उदाहरणका रुपमा हालैका दिनमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दुहरुलाई पार गरेर सहजै रुपमा ठूलो परिमाणमा अवैध सुन भित्रिनुले देखाएको छ । त्यस्ता लज्जास्पद घटनाहरुमा सरकार र प्रशासनको मिलेमतो भएको व्यवहारात पुष्टि भएको छ । त्यसले यहाँको सरकार र प्रशासनमा रहेका व्यक्तिहरुको निहीत स्वार्थपूर्तिका लागि जुनसुकै अनैतिक कार्य गर्न पछि पर्दैनन् भन्ने स्पष्ट पारेको छ । यसप्रकारको चारित्रिक विशेषता भएको राज्य, सरकार र प्रशासनलाई अन्तर्राष्ट्रिय जगतले विश्वास नगर्नु र हेप्नु स्वभाविक हुन जान्छ । जुन कुरा आम नेपाली जनताका लागि लज्जास्पद विषय हो ।

माथि उल्लेख गरिएका विषयहरु तत्काल र हठात भएको होइनन् । त्यसका अगाडि लामो ऐतिहासिक शृंखला जोडिएर आएको छ । हामीले हाम्रा छिमेकी राष्ट्रहरुसँग पारस्परिक सम्मान र समानताका आधारमा समग्र द्विपक्षीय सम्बन्धलाई अघि बढाउनु पर्दछ । त्यसो गर्दा भारतीय विस्तारवादी शासक वर्गहरुको प्रभुत्ववादी हर्कत र नेपाली शासक वर्गहरुको आत्मसमर्पणवादी कार्यका विरुद्ध सशक्त ढंगले प्रतिकार र संघर्ष गर्नु पर्दछ । एअर मार्शल वा उडान सुरक्षाकर्मीको विषय छ, तिनै शृंखलाहरुमध्येको एउटा सानो कडी मात्र हो ।