
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ ।
काठमाडौंको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरेर दुबै संगठन एक भएको घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का संयोजक सेवन्तराज भण्डारीले दुई संगठनको एकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई थप ऊर्जा मिलेको बताए ।
उनले आगामी निर्वाचनमा आफ्नो संगठनले अप्रत्याशित नतिजा निकाल्दै धेरै क्याम्पसमा जित्ने दाबी समेत गरे । ‘यो एकताले अवसरवादी झापड हुनेछ र क्रान्तिकारीहरु एक हुँदैछन् भन्ने सन्देश दिएको छ’ पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले भने ।
आफ्नो संगठनले राष्ट्रियताको लागि लिपुलेकमा झण्डा गरेको बताउँदै राष्ट्रियता रक्षाको लागि संघर्षका कार्यक्रमका साथ स्ववियु चुनावमा सहभागी हुने संयोजक भण्डारीले बताए ।
त्यसैगरी विद्यार्थी न्युक्लियसका पूर्वसंयोजक सुनित बुढाथोकीले विद्यार्थी आन्दोलनलको जामलाई खोल्ने बताइन् । उनले दुई संगठनको एकताले स्ववियु चनावमा क्रान्तिकारीको जितलाई सुनिश्चित गरेको बताउँदै आफूहरुले धेरै क्याम्पसमा जित्ने दाबी गरिन् ।
उनले चुनावी प्रक्रियामा असहमति हुँदाहुँदै पनि स्वविय चुनावमा गएको बताउँदै हार्ने डरले केही संगठन चुनाव भाड्न लागेको दाबी समेत गरे । यही माघ २४ र २५ गते अखिल क्रान्तिकारीको राष्ट्रिय भेला आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट शुभकामना दिँदै आगामी स्ववियु चुनाव जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए ।