विराटनगरमा क्रान्तिकारी युवालिगको मार्चपास (फोटो फिचर)

विराटनगरमा क्रान्तिकारी युवालिगको मार्चपास (फोटो फिचर)

विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालको मोरङ्ग जिल्ला भेला सम्पन भएको छ ।

भेलाले सन्तोष ढकालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिल वुढाथोकी, सचिव मुक्ति थापा, सह सचिव राजेश लामा कोषाध्यक्ष रविन खुलाल रहेका छन् ।

करिव १५ सयको संख्यामा विराटनगरमा उपस्थित युवाहरुले विराटनगरको महेन्द्र चोकवाट मुख्य वजार हुदै वरगाछी चोक सम्म मार्चपास गरेका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सिपि गजुरेल र लिगका केन्द्रीय अध्यक्ष अमिर मर्हजनको नेतृत्वमा सो मार्चपास भएको थियो ।
र्यालीपछि भेलाको उद्घाटन गर्दै गजुरेलले विराटनगरबाट क्रान्तिको झिल्को बल्न सुरु गरेको उद्घोष गरे । उनले प्रतिक्रियावादीहरुको शासन सत्तामा आगो लगाउन क्रान्तिकारी युवाहरु अगाडी बढनुको कुनै विकल्प नरहेको बताए ।

उनले भने, ‘विदेश जाने घर घरेडी जोड्नु मात्र युवाको कर्तव्य होईन, युवाको कर्तव्य त देशको शासन सक्ता आफ्नो लिएर चलाउने हो ।’

अन्याय, अत्याचार र राष्टघातको विरोध नगर्ने युवा हुनै नसक्ने उल्लेख गर्दै युवा उमेरको जोरघटाउबाट नभई विचारवाट छुटिने उनको भनाई थियो ।

कार्यक्रमा लिगका केन्द्रीय अध्यक्ष अमिर मर्हजन, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु केदार गुरागाई, मनोज श्रेष्ठ, सिताराम वुढाथोकी, गणेश कट्वाल लगायतको समेत उपस्थिति थियो ।