जेलमा रहेका पूर्वराज्यमन्त्री साहविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा

जेलमा रहेका पूर्वराज्यमन्त्री साहविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराज्यमन्त्री एवं निलम्बित सांसद संजयकुमार साहविरुद्ध ३१ करोेडभन्दा बढीको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले साहको ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र स्रोत नखुलेको दाबीसहित अख्तियारले सोमबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साह जनकपुर बम काण्डमा दोषी ठहर भई हाल जेलमा रहेका छन् । अख्तियारले ३१ करोड ५० दाख २६ हजार ५५९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । साह पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् ।

अख्तियारले साहका साथै उनका बाबु साधु साह सुडी, आमा दुलारी, श्रीमती रंगिला, भाई रामकुमारको कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारी राममिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलमको नाममा समेत सम्पत्ति लुकाएको देखिएको अख्तियारले दाबी गरेको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ४७ र अख्तियार ऐन २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गर्दै उनीहरुमाथि पनि मुद्दा दायर भएको छ ।