निर्वाचन आयोगले थाल्यो स्थानीय तहको निर्वाचन प्रक्रिया

निर्वाचन आयोगले थाल्यो स्थानीय तहको निर्वाचन प्रक्रिया

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी प्रक्रिया अघि बढाएको छ । 

आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आफू क्रियाशील रहेको जिल्लामा दर्ता हुन आग्रह गरेको छ ।

आयोगले २०७३ माघ १७ गतेभित्र आफू क्रियाशील जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालयमा विवरण दर्ता गराउन आग्रह गरेको हो ।

आयोगले भनेको छ, ‘आगामी स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दलहरूको जिल्लागत विवरण अद्यावधिक गर्न नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशिल रहेका जिल्लाका जिल्लास्तरीय समिति मार्फत २०७३ साल माघ १७ गतेसम्ममा सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा देहायको विवरण तोकिएको ढाँचामा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

यस्तै राजनीतिक दलका जिल्लास्तरीय समितिले पनि आफ्नो दलको नाम, दलको केन्द्रीय कार्यालय रहेको ठेगाना, दलको प्रमुख नेतृत्वको नाम, जिल्लास्तरीय कार्यालय, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराइदिन समेत आयोगले अनुरोध गरेको छ ।