संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति

संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि बढाउने र स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्ताका क्रममा संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढाउने र मधेसी मोर्चाले निर्वाचनको वातावरण बनाउने सहमति भएको सद्भावना नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

भेटवार्तामा प्रधानमन्त्री दाहाल र मोर्चाका नेताले संविधान सशोधन, स्थानीय निकायको निर्वाचनका अतिरिक्त संसद्को गतिरोध अन्त्य गर्नेलगायत समसामयिक विषयमा केन्द्रित रहेर छलफल भएको कर्णको भनाई थियो । 

मोर्चाले यथाशीघ्र संविधान सशोधन प्रस्ताव सदनमा टेबल गरेर पारित गर्ने प्रक्रियामा अघि बढाउन र त्यसपछि निर्वाचनतर्फ मुलुकलाई अग्रसर तुल्याउन राखेको प्रस्तावलाई प्रधानमन्त्री दाहालले सकारात्मक रुपमा लिएको बताइएको छ । 

मोर्चाले संशोधन प्रस्ताव पारित गरेपछि निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता जाहेर गरेको थियो । मधेसवादी दलहरुले उठाएको मागलाई सम्बोधन गर्ने विषयमा सहमति कायम गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले भने अस्वीकार गर्दै आएका छन् ।