प्रत्येक महान पुरुष आफ्नो युगको उपज रहन्छ, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज रहन्छ । इतिहासका अध्ययनवाट हामी कुन कुरा थाहा पाउँछौ भने साच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुको आवश्यकीय रुपबाट महापुरुषहरुलाई जन्माउछन् र ती महापुरुषहरुले सम्वन्धित आन्दोलन र परिवर्तनको उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन् र आफ्नो तर्फबाट त्यसमा महत्वपूर्ण योगदान गर्दछ । यो कुरा माओत्सेतुङको सम्वन्धमा पनि साँचो रहेको छ ।
माओ त्सेतुङ आफ्नो समयका महानतम माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । अन्य ऐतिहासिक व्यक्तित्वहरु झैं, उहाँ पनि एक ऐतिहासिक उपज हुनुहुन्थ्यो उहाँ आँफू रहेको समयको, त्यस्तो ऐतिहासिक अवधिको एक उपज तथा अभिन्न अंग हुनुहुन्थ्यो, जुन अबधिमा विश्व–ऐतिहासिक महत्वका केही घटनाहरु घटेका थिए । ती घटनाहरुमा प्रमुख हुन् : चिनियाँ जनताको महान मुक्ति आन्दोलन, आधुनिक संशोधनवाद तथा सामाजिक–साम्राज्यवादको विरुद्ध चलेको महान संघर्ष,महाशक्ति–प्रभुत्ववाद–विरोधी विश्व जनताको संर्घष, आदि । उहाँका सम्पूर्ण व्यक्तित्व तथा कार्यहरु उक्त घटनाहरुसित अभिन्न रुपमा गाँसिएका छन्,र त्यसमा उहाँको व्यक्तित्व र कार्यको प्रभाव र छाप स्पष्ट रुपमा परेको छ । सच्चा सर्वहारा क्रान्तिकारीको हैसियतले ती घटनाहरुमा प्रमुख भूमिका खेल्ने सिलसिलामा उहाँले मानव–मुक्तिको महान लक्ष्यमा र कम्युनिष्ट लक्ष्यमा ठूला योगदानहरु गर्नुभयो ।
माओत्सेतुङका योगदानहरु महान र महत्वपूर्ण छन् भन्ने कुरामा दुइमत पाइँन्दैन भन्न सकिन्छ, किनभने उहाँको चिन्तन–तरिका र कतिपय सैद्धान्तिक धारणालाई नमान्नेहरु समेत पनि उहाँका योगदानहरुलाई मान्दछन् । तर योगदानको स्वरुपको सम्बन्धमा,योगदान कस्तो खालको र कुन स्तरको भन्ने सम्बन्धमा मुख्य रुपले दुई विपरित धारणाहरु रहेको पाइन्छ । तिनमा एउटा अनुसार, माओत्सेतुङले जे जति योगदानहरु गर्नुभयो, ती राष्ट्रिय चरित्रका छन् र तिनले राष्ट्रिय अर्थात चिनियाँ सीमाभन्दा बाहिर केही महत्व राख्दैन् । उक्त धारणाका समर्थकहरुमा एक थरी जस्ता जो माओत्सेतुङका विचारलाई त मान्दछन् तर त्यसलाई विशुद्ध राष्ट्रिय चीज, विशुद्ध चिनियाँ परिघटना ठान्छन् ।
यस्तो धारणा माक्र्सवादलाई विशुद्ध जर्मन वा युरोपेली परिघटना ठान्ने र लेनिनवादलाई विशुद्ध रुसी परिघटना ठान्ने पहिले देखिएका धारणाहरुको पुनरावृति मात्र हो भन्न सकिन्छ । उक्त धारणा धारणालाई मान्नेहरु माओत्सेतुङका काम तथा विचारको महत्व तथा महानता चिनियाँ सीमाभित्र सीमित रहेको रुपमा लिइन्छ । यसको ठीक विपरित अक्रो धारणा छ, जसले माओत्सेतुङलाई एक अन्तराष्ट्रिय व्यक्तित्वको रुपमा हेर्छ, र कस्तो मान्यता राख्छ भने माओत्सेतुङका महान विचारहरु विशुद्ध राष्ट्रिय परिघटना होइनन् ती सांगुरो र राष्ट्रिय सीमाभित्र मात्र महत्व राख्ने चिज होइनन्,बरु तत्कालीन अन्तराष्ट्रिय तथा राष्ट्रिय विकास सित घनिष्ट रुपले सम्बन्धित र त्यसमा आधारित अन्तराष्ट्रिय परिघटना हुन् ।
अन्य मुलुकहरुमा झै, हाम्रो मुलुकमा पनि माओ त्सेतुङको देनलाई सानो पारेर देखाउने,त्यसलाई मामुली रुपमा प्रस्तुत गर्ने र विशुद्ध राष्ट्रिय महत्वको ठान्ने धारणा पाइन्छ । उक्त धारणा एकदमै यथार्तवादी र गलत छ,किनभने त्यसले माओ त्सेतुङका देनहरुलाई, उहाँका कार्य र विचारको महानतालाई व्यापक परिपेक्षमा, सम्पुर्ण अन्तराष्ट्रिय विचारको परिपेक्षमा हेर्न सकेको छैन, किनभने त्यसले त्यसलाई महान चिनियाँ जनक्रान्ति, आधुनिक– संशोधनवाद–विराधी संघर्ष र महाशक्ति–प्रभुत्ववाद–विरोधी संघर्षको विश्व ऐतिहासिक महत्वको परिपेक्षमा हेर्न सकेको छैन् । उक्त धारणाको पछिल्तिर कुन तथ्यप्रति अज्ञानता रहेको छ भन्ने प्रत्येक साँच्चिकै महान बिचारमा अन्तराष्ट्रिय बन्ने स्वाभाविक प्रवृति रहेको हुन्छ ।
मेरो विचारमा, माओ त्सेतुङबाट विश्व कम्युनिष्ट आन्दोलनप्रति गरिएको योगदानहरु बहुपक्षीय र बहुआयामिक छन् । यहीं दृष्टिकोणबाट संक्षिप्त रुपमा त्यसवारे चर्चा गरिएको छ ।
१) पहिलो कुरा के भने महान चिनियाँ जनक्रान्ति,अर्थात बीसौं शताब्दीमा महान अक्टोबर समाजवादी क्रान्तिपछिको अधिकतम विशाल, व्यापक तथा शक्तिशाली प्रतिक्रियावाद–विरोधी क्रान्तिका संगठनकर्ता तथा नेताको हैसियतबाट माओ त्सेतुङले विश्व जनक्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान गर्नुभयो ।
माओ त्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको चिनियां जनताको सामन्त–विरोधी तथा साम्राज्यवाद–विरोधी क्रान्तिको विजय बीसौ शताव्दीमा भएका अक्टोवर समाजवादी क्रान्ति र फासिष्टवाद माथि मानवजातिको विजयपछिको विश्वव्यापी महत्वको तेस्रो घटना थियो । विश्व सर्वहारा क्रान्तिको अभिन्न अंग रहेको उक्त विजयी क्रान्तिले विश्व साम्राज्यवादी व्यवस्थालाई निकै कमजोर र जनवाद,समाजवाद र शान्तिको पक्षलाई अधिक शक्तिशाली तथा व्यपक बनायो । खास रुपमा, उक्त विजयी क्रान्तिले औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकहरुमा राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो बल र प्रेणा प्रदान ग¥यो ।
जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश ग¥यो र त्यहाँ समाजवादी निर्माण गर्न थालिनु कम महत्वको कुरा थिएन, बरु वास्तवमा एक महान विश्व–ऐतिहासिक महत्वको घटना थियो ।
यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपछि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माण–कार्यको थालनी हुनु निश्चयनै विश्व कम्युनिष्ट आन्दोलनको ऐतिहासिक अग्रगतिमा अति महत्वपुर्ण पाइला थिए । तिनले उक्त आन्दोलनमा अभिवृद्धि र विकासमा तिनको ठूलो योगदान रहेको छ ।
माथि उल्लेखित सम्पुर्ण क्रान्ति र निर्माणको कामसित माओ त्सेतुङको नाउं अभिन्न रुपमा गासिएको छ । उहाँ उक्त क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता र समाजवादी निर्माणका प्रमुख इन्जिनियर हुनुहुन्थ्यो । जनवरी १९३५ मा चिनियां कम्युनिष्ट पार्टीमा उहाँको नेतृत्व स्थापित भएपछि,उहाँले चिनियाँ क्रान्तिलाई पुर्ण विजयसम्मबढाउनु भइ त्यसलाई समाजवादी चरणमा लैजानुभयो । उहाँले माक्र्सवादी–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई अर्ध–औपनिवेशिक चीनको क्रान्तिका विशिष्ट अवस्थाहरुमा बढो कुशल तथा सृजनात्मक ढंगवाट लागू गर्नुभयो । चिनियाँ जनक्रान्तिको विजय माक्र्सवाद–लेनिनवादको एउटा ठूलो एतिहासिक विजय पनि थियो । माक्र्सवाद अविकसित मुलुकहरुमा लागू हुदैन भन्ने त्यसताका प्रतिक्रियावादीहरुद्वारा व्यापक रुपमा प्रचारित फट्याइलाई व्यावहारिक रुपमा देखाएर, त्यसले माक्र्सवादको सर्वव्यापी लागूयोग्यतालाई अकाट्यरुपमा सावित गरिदियो । कुन कुरा एकदमै सत्य सावित भयो भने माक्र्सवाद विकसित, अल्पविकसित तथा अविकसित सवै मुलुकहरुमा र सवै परिस्थितिहरुमा लागूहुन सक्छ । उपरोक्त सारा कुरा विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान हुन र त्यसमा माओ त्सेतुङको प्रमूख भूमिका रहेको छ ।
२ दोस्रो कुरा के हो भने तत्कालीन सोभियत सशोधनवादी नेतृ–डफ्फावाट नेतृत्व गरिएको आधुनिक संशोधनवादको विरुद्ध माक्र्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको रक्षकको हैसियतवाट उहाँले विश्वकम्युनिष्ट आन्दोलनप्रति ठूलो योगदान गर्नुभयो । १९५३ मा स्टालीनको निधन पछि पूर्व सोवियत संघको कम्युनिष्ट पार्टीको नेतृत्व खुश्चोव र त्यसको गुटद्वारा हत्याइयो । उक्त नेतृ–डफ्फाले महान स्टालीनको नाउँ र कामहरुलाई बदनाम गर्न भगिरथ प्रयत्न ग¥यो ।
खुश्चोवपंथी नेतृ–डफ्फाद्वारा प्रतिनिधित्व गरिएको आधुनिक संशोधनवादले साम्राज्यवाद र प्रतिक्रियावादको हितमा माक्र्सवाद–लेनिनवादका शिक्षाहरुलाई संशोधन र तोडमरोड गरे । ती संशोधनवादीहरुले क्रान्तिकारी वर्ग–संघर्ष–समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकतन्त्र,युद्ध र शान्ति,आदिसम्वन्धि माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुप्रति विश्वासघात गरेर कम्युनिष्ट आन्दोलनलाई संशोधनवादीबाटोमा लैजान खोजे । त्यसैले,संशोधनवाद विश्व कम्युनिष्ट आन्दोलनको लागि निकै ठूलो खतरा बन्न पुग्यो ।