प्रचण्डले मालेमावाद होइन, उत्तर–आधुनिकतावाद लागू गरिरहेका छन् : अध्यक्ष किरण

प्रचण्डले मालेमावाद होइन, उत्तर–आधुनिकतावाद लागू गरिरहेका छन् : अध्यक्ष किरण

काठमाडौं । १२४ औं माओ जयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रचण्डले सत्ताको कुर्सीमा बसेर सर्वहारावर्गको मालेमावादी सिद्धान्तको नभएर साम्राज्यवादी सिद्धान्त ‘उत्तर–आधुनिकतावाद’ लागू गरिरहेको बताएका छन् । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको ‘१२४ औं माओत्सेतुङ जन्म दिवस समारोह’लाई सम्बोधन गर्दै अध्यक्ष किरणले भने, “प्रचण्डहरुले सत्ताको कुर्सीमा बसेर सर्वहारावर्गको मालेमावादी सिद्धान्त होइन, साम्राज्यवादी÷पुँजीवादी उत्तर–आधुनिकतावादी सिद्धान्त÷नवउदारवादी सिद्धान्त लागू गरिरहेका छन् ।”

पार्टीका नेता परि थापाले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष किरणले ‘माओवाद’ माक्र्सवाद र लेनिनवादको थप सिर्जनात्मक विकास भएको भन्दै साम्राज्यवाद (पुँजीवाद) चौतर्फी असफल बन्दै गएको अहिलेको अवस्थामा मालेमावादको आवश्यकता र महत्व अझ बढेर गएको बताए । माक्र्सवाद र लेनिनवादको तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेको योगदानको विशेष चर्चा गर्दै अध्यक्ष किरणले क्रान्तिका निम्ति मालेमामा आधारित वैचारिक अध्ययनलाई क्रान्तिकारीहरुले विशेष महत्व दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिको निम्ति विचारको रक्षा गर्नैपर्छ भन्दै मालेमावादलाई स्थापित गर्न सके मात्र क्रान्ति गर्न सजिलो हुने बताए । रक्षात्मक अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न मालेमावादी साहित्यलाई साम्राज्यवाद (पुँजीवाद)ले अघोषित रुपमा प्रतिबन्ध लगाउँदै गएको र अहिले सच्चा मालेमावादीहरुलाई चौतर्फी घेरावन्दीमा पारेको जिकिर गरे । गजुरेलले विचारलाई सिध्याएपछि क्रान्ति त्यत्तिकै सिद्धिने विश्लेषणमा रहेका साम्राज्यवादीहरुले मालेमावादी विचारलाई वेवास्ता गरेर र विद्रुपीकरण गरेर सिध्याउने प्रयास भइरहेकोप्रति क्रान्तिकारीहरु चनाखो रहनुपर्ने धारणा राखे ।