
काठमाडौं । आगामी चैत्रमा काठमाडौंमा विश्वव्यापी पर्वतारोहणसम्बन्धी प्रदर्शनी हुने भएको छ । पर्यटन बोर्डले साझेदार संस्थासंग मिलेर काठमाण्डौंमा यस्तो प्रदर्शनी गर्ने भएको हो । उत्पादन, सेवा, सुचनाप्रविधि तथा साहसिक पर्वतारोहण सम्बन्धी अन्तराष्ट्रिय गन्तव्य समायोजनको लागि प्रदर्शनी गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले प्रदर्शनीमा २ सय भन्दा धेरै देशको सहभागीता रहने अपेक्षा गरेको जनाएको छ ।
प्रदर्शनीमा पर्वतारोहण तथा साहसिक खेलमा प्रयोग हुने विभिन्न सामाग्री राखिने बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, भारतीय पर्वतारोहण संघ र चिनियाँ पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने प्रदर्शनी चैत्र १८ देखि २० गते सम्म चल्नेछ । विश्वबजारमा साहसिक पर्यटन र खेल पर्यटनको क्षेत्रमा उल्लेख्य बअृद्धि भएकोले यस्तो कार्यक्रम गर्न हौसला मिलेको आयोजकले बताएको छ । वर्ड ट्रेड अर्गनाईजेशन (डब्लुटिओ) को तथ्याङ्कले नेपालमा सन् २०१० देखि २०१३ सम्ममा साहसिक पर्यटनमा २ खर्ब ६३ अर्ब रुपैया बरावरको वृद्धि भएको देखाएको बोर्डले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।