पिकनिक जाँदै गरेको बस दुर्घटना, १ विद्यार्थीको मृत्यु

पिकनिक जाँदै गरेको बस दुर्घटना, १ विद्यार्थीको मृत्यु

काठमाडौं । पिकनिक जाँदै गरेको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

ललितपुरको क्यारेबियन कलेजका विद्यार्थीलाई लिएर जाँदै गरेको बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँ भन्ने स्थानमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी कक्षा १२ मा अध्ययनरत विद्यार्थी १८ वर्षीय युवराज केसीको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य २३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । 

कलेजले शनिबारका दिन विद्यार्थीहरु बस भाडामा लिएर रमाइलोका लागि पिकनिकमा जाने क्रममा सो दुर्घटना भएको जनाएको छ । 

विद्यार्थी बोकेको बस दक्षिणकाली नगरपालिका अन्तर्गत फर्पिङ–कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेको छ ।