यु–१९ एसिया कप क्रिकेट : नेपाल भारतसँग ६ विकेटले पराजित

यु–१९ एसिया कप क्रिकेट : नेपाल भारतसँग ६ विकेटले पराजित

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । यो पराजयसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ । 

नेपाल बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १७२ रन बनाएको थियो । 

जवाफमा १७३ रनको लक्ष्य भारतले मात्र ३३ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुभम गिलले सर्वाधिक ५७ रन बनाए भने हिमान्सु राणाले ५१ रनको योगदान गरे । दुबैको विकेट नेपालका पवन सर्राफले लिएका थिए ।

यस्तै प्रियम गर्गले अविजित ३९ रन जोडे भने सालमान खानले नटआउट १९ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सातौं नम्बरमा ब्याटिङमा आएका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्बाधिक ६८ रन जोडे ।

४९ ओभरमा १४८ रन बनाउँदा नेपालले ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा ब्याटिङमा चामत्कारिक प्रदर्शन गर्दै पौडेलले ४९.२ ओभरमा छक्का प्रहार गरी अर्धशतक पूरा गरेका थिए । 

त्यसपछि भारतीय बलर कमलेश नगरकोटीबिरुद्ध आक्रामक देखिएका पौडेलले लगातार चार बलमा क्रमसः चौका, चौका, छक्का र चौका प्रहार गर्दै अन्तिम ५ बलमा २४ रन बटुले । 

यसअघि दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । श्रीलंकाबिरुद्धको बिहीबारको खेलमा ९० रन बनाएका उनले भारतविरुद्ध ६२ बलको सामना गर्दै ४ चौका प्रहार गरे । 

सामान्य सुरुवात गरेको नेपालले ११ औं ओभरमा पहिलो विकेट गुमाएको थियो भने अठारौं ओभरसम्म पाँच विकेट गुमाउन पुग्यो । मध्य क्रममा दिपेन्द्रबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर आसिफ शेखले १८ रन बनाए भने प्रकाश केसीले १३ र सन्दिप लामिछानेले ७ रन जोडे । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका क्रमसः आदिल खान र भीम कार्कीले खाता खोल्न सकेनन् ।