सबै परम्परालाई रुपान्तरण गर्दै लैजानुपर्छ : अध्यक्ष किरण

सबै परम्परालाई रुपान्तरण गर्दै लैजानुपर्छ : अध्यक्ष किरण

काभ्रे । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा‘सागर’का पिता नरहरि चौलागाईंको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य‘किरण’ले मृत्यु संस्कार (काजक्रिया)लगायत सबै परम्परालाई रुपान्तरण गर्दै लैजानु पर्ने धारणा व्यक्त गर्नुभएको छ । स्व.नरहरिको घर काभ्रेको पाँचखाल, माझिफेदामा जिल्ला पार्टी काभ्रेले आयोजना गरेको उक्त श्रद्धाञ्जलीसभामा अध्यक्ष किरणले भन्नुभयो, “पुराना आस्थालाई सम्मान गर्दै बुझ्ने र बदल्नेतिर अघिबढ्नु पर्दछ । सबै परम्परालाई विस्तारै रुपान्तरण गर्दै लैजानु पर्दछ ।”

दशवर्षे जनयुद्ध कालखण्डमा बलिदान गर्ने महान सहिदहरुको स्मरण गर्दै र स्व.नरहरिले त्यस युद्धमा महत्वपूर्ण सहयोग गर्नुभएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “सार्थक मृत्युका निम्ति अथक मेहनत र परिश्रम गर्नुपर्दछ । नरहरि चौलागाईंले प्राप्त गर्नुभएको मृत्यु उचाईमा पुगेको मृत्यु हो ।”

समाज दुई आदर्शवादी र भौतिकवादी धारामा विभक्त रहेको चर्चा गर्दै अध्यक्ष किरणले समाजमा झांगिएको आदर्शवादी धारालाई वर्गसंघर्ष र शिक्षा आर्जनको बीचबाट रुपान्तरण गर्दै लैजान सकिने बताउनु भयो । नेपालमा संघीय जनगणतान्त्रिक व्यवस्था स्थापित गर्दै एक दिन समाजवाद र साम्यवादको आदर्श पूरा भइछाड्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका कोभ्रे जिल्ला संयोजक सोनामसिंह तामाङले अध्यक्षता गरेको उक्त श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष किरणले स्व.नरहरि चौलागाईंको फोटोमा माल्यार्पण गर्नुका साथै स्व.चौलागाईंका जेठा छोरा शर्मालाई पार्टीको तर्फबाट हार्दिक समवेदना पत्र प्रदान गर्नुभएको थियो । समवेदना पत्रको वाचन पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल‘प्रतिक’ले गर्नुभएको थियो ।

गोपाल घिमिरेले सञ्चालन गरेको श्रद्धाञ्जलीसभामा पार्टीका केन्द्रीय सचिवालय सदस्य पवनमान श्रेष्ठ, राम आचार्य, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, आकाश, शारदा महतलगायत नेवाराज्य अन्तर्गत कार्यरत पार्टी, जबस, मोर्चाका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्व. नरहरि चौलागाईंका दुई श्रीमतीहरु धनमाया (स्वर्गीय) र भद्रकुमारी चौलागाईंका तर्फबाट नौ भाइ छोराहरु, ७ बहिनी छोरीहरु, १७ जना नातिहरु, २८ जना नातिनीहरु, २ पनाती र ३ पनातिनीहरुसमेत गरी ८४ जना सन्तानहरु रहेका छन् । उहाँका जेठा छोरा दिनेश शर्मा‘सागर’ क्रान्तिकारी माओवादीको केन्द्रीय सचिवालय सदस्य एवं नेवा राज्य इन्चार्ज हुनुुहुन्छ भने शर्माकी जीवनसंगिनी लक्ष्मी मुठभरी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । चौलागाईंको मंसिर २२ गते उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । उहाँले लामो समयदेखि पार्टीलाई विभिन्न रुपमा सहयोग पु¥याउँदै आउनु भएको थियो ।