काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)ले नेपालमाथिको भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने भएका छन् । तीन पार्टीका शीर्ष नेताहरुको आज बसेको बैठकले यस्तो सहमति गरेको हो ।
तीन पार्टीका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, “नेपालमा भारतीय विस्तारवादका तर्फबाट भएका राष्ट्रियता (जलस्रोत, प्राकृतिक साधनस्रोत)माथि गरिएको अतिक्रमणका विरुद्धमा कार्यगत एकता गरी संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने निर्णय गरिएको छ ।”
शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, “महान अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम पार्टी स्थापना दिवस सन्दर्भमा आगामी २२ अप्रिल (बैशाख ९ गते) संयुक्त रुपमा मनाउने निर्णय गरियो ।”
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आफूलाई खरो रुपमा उभ्याउँदै आएका तीन वाम घटकको यो निर्णले नेपाली राजनीतिमा नयाँ क्रान्तिकारी ध्रुवीकरणको संकेत गरेको छ । तीन पार्टीको यो ध्रुवीकरणले क्रान्तिकारीहरुमा उत्साहको संचार गरेको छ ।