जलेश्वर, महोत्तरी । नेकपा (क्रान्तिकारी माओवादी) र देजमो महोत्तरीको संयुक्त आयोजनामा सदरमुकाम जलेश्वरमा आयोजना गरेको ‘राष्ट्रियता, जनतन्त्र र जनजीविका र संघीयता’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले पहाड मधेश सबैलाई राष्ट्रियता, संघीयता र वर्गीयताको मुद्दाले जोड्ने बताएका छन् ।
शनिबार सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी गजुरेलले मधेशवादी पार्टीहरुले समग्र नेपालको बारेमा सोच्न नसकेको बताए । उनले भने, “मधेशवादीहरुले राखेका एजेण्डा पर्याप्त छैनन् । सबै मिलेर छलफल गरेर अघि बढौं र मुलुकलाई निकास दिऔं ।”
उक्त अन्तक्र्रिया कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रोशन जनकपुरी, तमलोपाका केस इन्दल सिंह, सद्भावनाका जिल्ला सचिव धर्मेन्द्र यादव र पत्रकार कुँवरकान्त झाले पनि मनतव्य राखेका थिए भने पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मिथिला राज्य संयोजक कृष्णदेव सिंह दनुवार, केन्द्रीय सदस्य विरेन्द्रकुमार यादवको समेत उपस्थिति रहेको थियो । क्रान्तिकारी माओवादीका महोत्तरी सेक्रेटरी रिना गेलालको अध्यक्षता गरेको उक्त कार्यक्रममा उपेन्द्र यादवले स्वागत मन्तव्य राखेका थिए भने संचालन प्रेमबहादुर भुजेलले गरेका थिए ।





























