काठमाडौं । थाल्याण्डमा सुरु टी–२० महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्ने अवसर पाएको हो ।
थाइल्याण्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुने पाकिस्ताविरुद्धको खेल नेपालका लागि चुनौति पूर्ण हुनेछ । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो ।
एसिया कपमा पाकिस्तान पाँचौ पटक र नेपाल दोस्रो पटक पुगेका हुन् । प्रतियोगिता सन् २०१२ मा चीनको ग्वान्झाउमा भएको पाँचौ संस्करणपछि ट्वान्टी–ट्वान्टी फम्र्याटमा हुँदा नेपाल पनि सहभागी भएको थियो । यद्दपि सो प्रतियोगितामा खेलेको तीनै खेलमा पराजय बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाली टोलीमा आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोट खेलेका १३ खेलाडी छन् । एसिया कपमा नेपालसहित ६ राष्ट्रबीच प्रतिस्पर्धा हुँदै छ । आयोजक थाइल्यान्डसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासँग नेपाल भिड्नेछ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।