संविधान खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले गर्यो देशैभर विरोध प्रदर्शन

संविधान खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले गर्यो देशैभर विरोध प्रदर्शन

indra

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रबार देशैभर विरोध प्रदर्शन गरेको छ । संविधान संशोधनले देश र जनताको समस्या हल नगर्ने भन्दै वर्तमान संविधान प्रतिगामी र जनविरोधी रहेकोले यसको खारेजी गरी जनताको संघीय गणतन्त्रमा आधारित संविधान जारी गर्न अर्को आन्दोलनको उठान गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

पार्टीको नेवा राज्यको आयोजनामा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भएको कार्यक्रममा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले वर्तमान संविधान जनविरोधी रहेकोले यसको खारेज गरिनुपर्ने माग गरे । उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या निकै जटिल पेचिलो बनेकोले यी समस्या हल गर्न आन्दोलनको विकल्प नरहेको बताए ।

मूलबाटोलाई प्राप्त जानकारी अनुसार कोचिला, लिम्बुवान, किरात, मिथिला, भोजपुरा, ताम्सालिङ, अवध, तमुवान, मगरात, थारुवान, सेम र भेकका जिल्लाहरुमा पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर विरोध प्रदर्शनहरु भएका छन् ।

सेती महाकालीका इन्चार्ज कृष्ण गुरुङले जनाए अनुसार सेमका ७ वटा जिल्लामध्ये ६ वटा जिल्लाहरु डडेलधुरा, डोटी, बाजुरा, अछाम, बझाङ्, दार्चुलामा प्रजिअलाई ज्ञापन पत्र बुझाएर विरोध प्रदर्शन गरिएको छ भने बैतडीमा स्थानीइ आठवटा दलको सभागितामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा अन्तक्र्रिया आयोजना गरिएको छ .

यसैगरी, बुटवलबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी रुपन्देही जिल्ला समिति,रुपन्देहीले बुटवलमा विरोध सभा सम्पन्न गरेको छ । ‘महंगी, भ्रष्टाचार र राष्ट्रघातको विरोध गरौं, जनगणतन्त्र प्राप्तिको लागि संघर्ष गरौं !’ भन्ने उद्घोषका साथ आयोजित सभालाई सम्बोधन गदैं रुपन्देहीका पार्टी संयोजक भुलबहादुर सुनारीमगरले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षा र भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावानी दिएका छन् । संसदवादी दलहरुले जारी गरेको संविधान पश्चागामी भएको भन्दैं खारेज गरी जनसंविधान निर्माण गर्नुपर्नेमा नेता सुनारीले जोड दिए ।