आर्थिक आत्मनिर्भरता : क्रान्तिकारी युद्धको मजबूत आधार

आर्थिक आत्मनिर्भरता : क्रान्तिकारी युद्धको मजबूत आधार

नयाँ जनवादी क्रान्तिमा जुटेका प्रत्येक क्रान्तिकारी कामरेडहरुले अत्यन्तै महत्वकासाथ आत्मासाथ गर्नुपर्ने कुरा भनेको आर्थिक आत्मनिर्भरताविना क्रान्ति सम्भव हुन्न भन्ने हो । आर्थिक निर्भरताविना राष्ट्रिय मुक्ति र जनमुक्ति सम्भव छैन । परनिर्भताबाट मुक्त हुन क्रान्तिकारीहरुले आर्थिक उत्पादन गर्ने काममा क्रान्तिकारी युद्धको वरिपरि फन्को मार्नेगरि जुट्नुपर्छ ।

क्रान्तिकारी काममा लागेका सबैजनाले यस कुरालाई राम्ररी बुझ्नुपर्छ । यहाँ कतिपय कामरेडहरुले के सोचेका छन् भने क्रान्तिकारी कार्यमा लागेका मानिसहरु ज्यादै व्यस्त हुन्छन् र आर्थिक निर्माणका लागि समय निकाल्न सकिन्न, र उनीहरुले आर्थिक निर्माणको पक्षमा कुरो गर्नेलाई “दक्षिणपन्थी भड्काववादी” भनेर निन्दा गर्न पनि पछि पर्दैनन् । उनीहरु यो सोच्दैनन् कि चन्दाको भरमा चलाएको क्रान्ति परनिर्भर हुन्छ । फेरि पनि चन्दा संकलन अभियान आपैmमा गलत होइन । तर दीर्घकालीन हिसाबले आर्थिक आत्मनिर्भरताको जगमा नै क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने गरी सोच्न जरुरी छ ।

नयाँ जनवादी क्रान्तिको प्रश्न एउटा लामो प्रक्रिया हो । आर्र्थिक आधारलाई बलियो नबनाइकन क्रान्तिका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलाई सशक्त बनाउन सकिन्न । जनतासँग जोडेर आर्थिक निर्माणमा सिंगो पार्टीलाई लगाउन जरुरी छ । शत्रुले हामीलाई युद्धको मैदान छोडेर भगाउन जताततै आर्थिक नाकाबन्दी गरिरहेका हुन्छन् । बेइमान व्यापारीहरुले बजारमा कृतिम अभाव सृजना गरेर जनताको दैनिक जीविकाको निमित्त नभई नहुने उपभोग्य सामानको अचाक्ली मूल्यवृद्धि गरेर जनजीवनलाई अस्तव्यस्त पारिरहेका हुन्छन् ।

यी सबै कुराहरुको प्रत्यक्ष प्रभाव मजदुर, किसान तथा सामान्य जनजीवन माथि पर्छ र उनीहरुको जीवनमा सुधार ल्याउनु असंभव प्रायः बन्न जान्छन् । के यसले हाम्रो आधारभूत कार्यदिशामाथि मजदुर–किसान मेलमाथि प्रभाव पार्दैन र ? मजदुर, किसान तथा आम–जनताको खानपिन र आफ्नो रहन–सहनको स्थितिबाट असन्तुष्ट भएमा के त्यसले हाम्रो नयाँ जनवादी क्रान्तिका लागि आम जनतालाई संगठित पार्ने काममाथि प्रभाव पार्दैन र ? त्यसैले, क्रान्ति (युद्ध) को तयारीमा जुटिरहेको समय होस् वा क्रान्तिकारी युद्ध सुरु वा चरम् चुलिमा पुगिरहेको समय नै किन नहोस्, आर्थिक निर्माणको कामलाई व्यवस्थित बनाउनै पर्दछ ।

puspa-gopal-shresthaयहाँ केही कामरेडहरुले के सोचेका छन् भने वर्तमान समयमा हामीले हाम्रो सम्पूर्ण शक्ति नयाँ जनवादी क्रान्तिको तयारीमा लगाएका छौं, यसले गर्दा कामरेडहरु ज्यादै व्यस्त हुने भएकोले आर्थिक निर्माणका लागि समय बचाउनु असम्भव छ । यतिखेर हामीले हाम्रो सम्पूर्ण शक्ति नयाँ जनवादी क्रान्ति तयारी प्रयत्नको अधीनस्थ पारिनु पर्छ, तर उनीहरु के कुरा बुझदैनन् भने आर्थिक निर्माणको कामलाई पन्छउदैमा सारा कुरो नयाँ जनवादी क्रान्ति–प्रयत्नको अधिनस्थ हुदैन, बरु क्रान्ति–प्रयत्न कमजोर हुन्छ ।

हामी आर्थिक निर्माणमा जुट्नुको अर्थ अवश्य पनि त्यो होइन कि पुँजीवादीहरुको लक्ष र उद्देश्य अनुरुप पैसा (सम्पत्ति) थोपार्नु । के हो त भने आर्थिक निर्माणलाई विकास गरेर हामी क्रान्तिकारी युद्ध (नयाँ जनवादी क्रान्ति) का लागि आवश्यक पर्याप्त मात्रामा भौतिक आधार जुटाउन चाहन्छौं र हामी आफ्नो क्रान्तिकारी अभियानलाई जुझारु ढङ्गले चलाउन सक्छौं र हाम्रा शत्रु प्रतिक्रियावादी क्याम्पमाथि प्रभावकारी ढङ्गले प्रहार गर्न सक्छौं । यसरी मात्र हामी क्रान्तिकारी योद्धाहरुको विस्तारका लागि साधन स्रोतहरु प्राप्त गर्न सक्छौं र क्रान्तिकारी मोर्चालाई अगाडि बढाउन सक्छौं, जस्ले गर्दा परिस्थिति अनुकुल हुदाँखेरि क्रान्तिकारी मोर्चाले निश्चिन्त भएर आफ्नो सारा ध्यान लड्नमा केन्दि«त पार्न सक्नेछ । र, यसरी मात्र हामी जनताका भौतिक खाँचोहरुको पूर्ति केही हदसम्म गर्न सक्छौं, जस्ले गर्दा उनीहरु अधिक ठूलो उत्साहका साथ क्रान्तिकारी पार्टीमा सामेल हुनेछन् वा अन्य क्रान्तिकारी कामहरु गर्नेछन् ।

आर्थिक निर्माण कार्यको क्रममा तत्काल गर्नुपर्ने र गर्नसक्ने पहिलो देशलाई मरुभूमिमा परिणत हुन दिनुबाट रोक्नु र सामुहिक खेती प्रणालीप्रति आस्था जगाउनु । यी दुई कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनु उपयुक्त हुनुको सँगै समय सान्र्दभिक ठहरिन आउँछ । पहिलो, देशभित्रका कुनैपनि खेतियोग्य जमिनहरुमा कोहि कसैलाई घर, टहरा वा कल–कारखाना बनाउने प्रयोजनको लागि भूमाफिया र दलाल एवम् नोकरशाही पूँजीपति तथा सामन्तवर्गकै कब्जामा रहिआएका्े प्रतिक्रियावादी सरकारको मिलेमतोमा हुन गइरहेको यस्ता सम्पूर्ण गतिविधि रोक्न सशक्त जनजागरण अभियान संचालन गर्ने ।

दोश्रो, उपरोक्त कार्यलाई सघाउ पु¥याउनुकोसँगै आर्थिक निर्माण समेत हुनेगरि सामुहिक खेती प्रणालीको प्रचारप्रसार गर्ने उद्देश्यका साथ अहिले नै सामुहिक तरकारी फारम (खेती) को निमित्त आवश्यक अनुरुपको उपयुक्त खेत (ठाउँ) खोजेर अहिलेलाई भाडामा लिएर कार्य गर्नु उपयुक्त हुन्छ र यसरी विस्तार विस्तार देश व्यापीरुपमा जनकम्युन निर्माण(सृजना) गर्नुका साथै क्रान्तिकारी सहकारी संस्थाहरुको निर्माण गरी घरेलु ससाना उद्योग तथा कृषि उत्पादनमा गाई, भैंसी, भेंडा, बाख्रा लगायत सम्भव भएसम्म सबै आवश्यक वस्तुहरु उत्पादन गर्नुले क्रान्तिको निमित्त आधारभूत आवश्यकता परिपुर्ति गर्न सजिलो हुनजाने कुरामा कुनै शंका रहने छैन ।

क्रान्तिको तयारीमा जुट्नु र क्रान्ति गर्नु भनेको क्रान्तिकारी भाषण गर्नु, बक्तव्यवाजी गर्नु र जुलुसको आयोजना गरी आकाश थर्किने गरी क्रान्तिकारी नाराहरु गुञ्जाएमान गर्नु नै मात्र क्रान्तिको तयारी र क्रान्ति गरेको ठहरिन्न र यसरी मात्र क्रान्ति हुन सक्तैन । क्रान्तिको निमित्त सिंगो क्रान्तिकारी पार्टी मात्र तातिएर क्रान्ति हुने हैन र हुन सक्तैन । क्रान्ति हुन र गर्न क्रान्तिको निमित्त आवश्यक भौतिक आधारभूत आवश्यकता परिपुर्ति हुनु र गर्नु अत्यावश्यक छ, र फेरि जनाधारविनाको क्रान्ति पनि केवल हावादारी सिवाय अरु हुन सक्दैन ।

सच्चा क्रान्तिकारीहरु सच्चा दिलले क्रान्तिको तयारी निमित्त मालेमावादी सैद्धान्तिक आधारमा एकतर्फी रुपले मात्र लागि रहने हो भने फेरि ‘वीरबलको खिचडी पकाई’जस्तै गरी व्यवहारत गर्नुपर्ने काम कुरोलाई बेवास्ता गर्नु भनेको क्रान्ति विरोधीहरुले क्रान्तिको माला जपेर क्रान्तिकारी पार्टी र क्रान्तिकारी धारालाई ध्वस्त पार्ने प्रयत्नलाई नै अप्रत्यक्ष रुपले सघाउ पुग्नजाने कुराप्रति सचेत हुन नितान्त जरुरी छ ।

माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक आधारलाई व्यवहारमा उतार्नु भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले देश, काल र परिस्थितिलाई आफ्नो अनुकुल बनाई आ–आफ्नो पालोमा सैद्धान्तिक आधारमा उभिएर व्यवहारतः क्रान्तिमा उतीर्ण गरेका कटु अनुभवहरु गहन अध्ययन चिन्तन मननका साथ आत्मसात गरी, आफ्नो देश नेपालको वस्तुगतस्थितिलाई नेपाली विशेषता अनुरुप ढालेर नयाँ जनवादी क्रान्तिको पहलकदमी लिनु आज क्रान्तिकारीहरुका निमित्त अनिवार्य सर्त हुन आइपुगेको छ ।

हामी क्रान्तिकारीहरुको निमित्त यो एउटा महान अभिभारा हो र एउटा महान वर्ग–संघर्ष पनि हो । हामीले आर्थिक निर्माणको कामलाई क्रान्तिकारी इमान्दारितालाई कायम राख्दै क्रान्तिको निमित्त अत्यावश्य भौतिक–आधारभूत आवश्यकताका साथै आम जनताको लागि दैनिक जीवनयापनको निमित्त आधारभूत आवश्यकता समेत पहिचान गरी, आर्थिक निर्माणको कार्यलाई सुसंगठित गरी अगाडि बढाउनुपर्छ । र, यस कार्यलाई दिगो, सुदृढ र सुसंगठित बनाईराख्न एउटा छुट्टै आधारभूत आवश्यकता–आपूर्ति–नियमन विभाग खडा गरी यसका कार्यविधि सबै पारदर्शी हुनेगरी कार्यविधि अपनाउनुपर्छ ।

हाम्रो आर्थिक निर्माणको उद्देश्य उत्पादन बढाउनु मात्र होइन, बरु आम जनतामा उचित मोलमा बिक्रिगरी आएको पैसा मध्यबाट केही पैसा छुट्याई त्यो पैसाले जनतामा बितरण गर्नका लागि बजारमा उपलब्ध अरु सस्तो र सुलभ भएको बेला दैनिक उपभोगका सामानहरु खरिद गरी राख्नु पनि हो । जस्ले गर्दा शत्रुहरुले गरिने नाकाबन्दी तोड्न र व्यापारीहरुद्वारा गरिने शोषणलाई रोक्न सकियोस् ।

हामीले के कुरा भनिरहेका छैनौं र हाम्रो इरादा पनि के होइन भने हामीले गर्न खोजेको र गर्ने आर्थिक निर्माणको कामबाट उत्पादन हुने कुनै पनि उत्पादित वस्तुहरुको बिक्रीमा पूरा एकाधिकार हुनुपर्छ, वा व्यापारीहरुलाई छुनै नदिइकन सरकारले आम जनताको दैनिकलाई नभई नहुने अत्यावश्यक उपभोग्य–वस्तुको व्यापारलाई आफ्नो हातमा लिनुपर्छ । यहाँ यसबारे कुरा गरिरहेको होइन, न हामीले यो सब गर्न खोजेका छौं । जुन काम हामी गर्न खोज्दै छौं, त्यो के हो भने क्रान्तिको निमित्त भौत्तिक आधारभूत आवश्यकता परिपुर्ति गर्नुसँगै आम जनताको दैनिकीको निमित्त आवश्यक वस्तुहरुको उपलब्धिमा सहज र सुविधाजनक बनोस् भन्नु नै हो ।

आर्थिक निर्माणको सन्दर्भमा क.माओ भन्नुहुन्थ्यो– “वर्तमान चरणमा आर्थिक निर्माणले हाम्रो केन्द्रीय काम, अर्थात् क्रान्तिकारी युद्धको वरिपरि फन्को मार्नुपर्छ । आज क्रान्तिकारी युद्ध हाम्रो केन्द«ीय काम हो र आर्थिक निर्माणले त्यसको सेवा गर्नुपर्छ, त्यसको वरिपरि फन्को मार्नुपर्छ र आफुलाई त्यसको अधीनस्थ राख्नुपर्छ । त्यसरी नै जनवादी क्रान्तिकारी युद्धको अवहेलना गरेर आर्थिक निर्माणलाई हाम्रो वर्तमान कार्यको केन्द्र ठान्नु, वा क्रान्तिकारी युद्धबाट छुट्टै रुपमा आर्थिक निर्माणको काम गर्नु पनि गलत हुनेछ ।” निश्चितै रुपले क.माओको भनाई अनुरुप वर्तमान समयमा गर्नुपर्ने कामहरु क्रान्तिको लागि अति जरुरी भएका काम हुन् । ती आर्थिक निर्माणका कामहरुमा प्रत्येकले क्रान्तिको सेवा गर्नुपर्छ । यदि क्रान्तिबाट छुट्टै आर्थिक निर्माण गर्ने बिचार कुनै कामरेडमा रहेको छ भने उसले तुरुन्त यस गल्तीलाई सच्याउनुपर्छ ।

अर्काे कुरो, जन–संगठनहरुलाई मुख्य रुपले मजदुर संघ र किसान संघहरुलाई क्रियाशिल पार्नुपर्छ । हामीले गाउँ सहरका विभिन्न इलाका (ठाउँ)हरुमा सभा गरि आर्थिक निर्माणका लागि प्रचार गर्नुपर्छ, र आर्थिक निर्माण कुन ढंगबाट क्रान्तिकारी अभियान(युद्ध) सित सम्बन्धित छ भन्ने कुरो स्पष्टसित बुझाउनु पर्छ र जनताको रहन–सहनलाई कसरी बढाउने भन्ने विषयमा अत्याधिक व्यावहारिक ढंगबाट छलफल गर्नुपर्छ । र, हामीले जनतालाई संचालित गर्न विभिन्न संगठनात्मक उपायहरुको प्रयोग गर्दै उपयुक्त ढंगबाट उनीहरुको माझमा प्रचार प्रसार गरी आम जनतालाई के आह्वान गर्नुपर्छ भने आर्थिक निर्माणलाई द¥होपार्न क्रान्तिकारी सहकारी संस्था निर्माणसँगै विकास गर्न एकप्रकारको बन्धपत्र किनुन् ।

यो कदापि बिर्सनु हुन्न कि आम जनतालाई संचालित गर्नमा हामीले नौकरशाही तरिका अपनाउनु हुँदैन । हाम्रो क्रान्तिकारी कामको अरु कुनै पनि क्षेत्रमा भैंm, आर्थिक निर्माणको क्षेत्रमा पनि नौकरशाही नेतृत्व सहय हुन सक्दैन । नौकरशाहीको धिनलाग्दो खराबीलाई कुनैपनि कामरेड मनपराउँदैनन् । त्यसैले यसलाई फोहर कसिंगरमा फाल्नु पर्छ । र, हामी सबैले त्यस्तो तरीकालाई रुचाउनुपर्छ जसलाई आम जनताले रुचाउँछन्, अर्थात जसलाई सारा मजदूर, किसान र शोषित पीडित जनताले स्वागत गरुन् ।

हामीले के पनि बिर्सनु हुन्न भने आर्थिक निर्माणको अभियानलाई विस्तृत पार्न ठूलो संख्यामा कार्यकर्ताहरुको खाँचो पर्छ । त्यसको निमित्त आवश्यक जन–शक्ति हामीले संगठित तथा प्रशिक्षित पारेर आर्थिक निर्माणको मोर्चामा पठाउनु पर्छ । जसलाई हामी आर्थिक निर्माणको मोर्चामा पठाउँछौं, मोर्चामा उनीहरु नाइके हुन्छन् भने व्यापक जनता कामदार हुन्छन् ।

यसरी गरिने आर्थिक निर्माणको कामबाट हुने आर्थिक अभिबृद्धिबाट आम जनताको जीवनमा हुने सुधारबाट नयाँ जनवादी क्रान्तिको आधार द¥हो पार्ने र आमजनतालाई उत्साहका साथ मोर्चामा जान अभिप्रेरित गर्ने काममा अवश्य पनि ठूलो सहायता मिल्नेछ । र, आर्थिक निर्माणको ज्यादै महत्वपूर्ण नयाँ काम लगायत उपयुक्त सबै कामहरु पुरा गर्छाै भनेर यदि हामी नयाँ जनवादी क्रान्तिको लागि ती सबैको उपयोग गर्छाैं भने, नयाँ जनवादी क्रान्तिको झण्डा निसन्देह विजयको शिखरमा फहरिनेछ ।