बन्दका क्रम विप्लवका २९५ कार्यकर्ता पक्राउ

biplap-netrabikram

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आइतबार आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बन्दका क्रममा बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलनजिकै रा १ ह ४५३ नं को इ–रिक्सामा आगजनी, धरानस्थित कोसी राजमार्गमा बा ११ च १८८१ नं को बलेरो गाडी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे–३ स्थित १२ किलो भन्ने ठाउँमा बिहान ७ बजे वीरगन्जबाट काठमाडाँै जाँदै गरेको ना ४ ख ७६०२ नंको रात्रि बस र सर्लाही हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ५८ नं को ट्रकमा ढुङ्गा प्रहार हुँदा सवारी साधनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको अनुसन्धान जारी रहेको तथा आगजनी तथा तोडफोड गरेर फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यातायातका साधन कम चल्दा यात्रुलाई आवातजावतमा केही कठिनाइ भएको थियो भने उद्योग, कलकारखाना, विद्यालय पनि दिनभर बन्द भएका थिए ।