

दिनेश शर्मा
मानव जातिको उत्पत्ति र त्यसको विकास सँगसँगै समाजमा दुईवटा वर्ग जन्मिन पुगे । समाजको एउटा सानो हिस्सामा रहेको चतुर वर्गले शासन सत्ता खडा ग¥यो र आर्थिक, राजनीतिक, सामाजिकलगायत सबै प्रकारका अधिकारहरु आफ्नो वर्गको हातमा केन्द्रित ग¥यो । समाजको अर्को ठूलो हिस्सामा रहेको मानव जातिलाई सबै प्रकारका शोषण, दमन र उत्पीडनको जालमा पा¥यो ।
यसरी खडा भएको विभेदकारी समाजमा एक पछि अर्को गर्दै वर्ग अन्तरविरोध पैदा हुँदै गयो । कहिले सुषुप्त अवस्थामा त कहिले सशक्त रुपमा वर्गीय लडाइँहरु जारी रहँदै आए । कतिपय यथार्थवादी कतिपय आदर्शवादी खोज, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले वर्गसंघर्षको समाधानका विषयमा बाटो देखाउने निष्कर्षहरु पनि सार्वजनिक नगरेका होइनन् । त्यसले कतिपय अवस्थामा सुधारका काम त ग¥यो तर समस्याको पूर्ण समाधानको तहमा पुग्न सकेनन्, किनकि, ती विचारहरु आफैमा अपूर्ण थिए ।
यद्यपि वर्गसंघर्षले समाजमा परिवर्तन भने ल्यायो । शासन सत्ताहरु फेरिए । शोषणका रुपहरु बद्लिए तर शोषक र शोषितहरुका बीचको अन्तरविरोध शासक र र शाषितहरुका बीचको अन्तरविरोध कायम रह्यो । दुईवटा वर्गका बीचको अन्तरविरोध कायम रह्यो । दास युगमा दास–दासी र दास मालिक तथा उसको सत्ताका विरुद्ध दास–दासीहरुले वर्गसंघर्ष चलाएका थिए भने सामन्तवादी युगमा किसानहरुले ठूला ठूला सामन्त तथा सामन्तवादी सत्ताका विरुद्ध किसानहरुले वर्गसंघर्ष चलाए । संसारका सबै मानिसहरुलाई थाहा छ– विश्वमा भएका ठूल्ठूला वर्ग संघर्षहरुले नै परिवर्तन गराएको हो र सँगै विकास पनि गराएको हो ।
जब पुँजीवादी वर्गको जन्म भयो, तब एकातिर ठूल्ठूला पुँजीपतिवर्गको उत्पत्ति भयो भने अर्कोतिर सर्वहारा मजदुरवर्ग । पुँजीपति वर्गका विरुद्धको वर्गसंघर्षले एउटा भीषण वर्गसंघर्षको रुप लिदै गर्दा विश्वमा देखापर्दै आएका यथास्थितिवादी तथा सुधारवादी प्रकारका दार्शनिहरुलाई पछाडि पार्दै माक्र्स तथा एन्गेल्सजस्ता महान दार्शनिकहरुले वास्तविक वैज्ञानिक विचारलाई अगाडि सार्नुभयो । तत्पश्चात् विश्वमा चलेका वर्गसंघर्षले एउटा नयाँ मोड लियो ।
कम्युनिष्ट घोषणा पत्र जारी भएको आज १६८ वर्ष भएको छ । क्रान्तिका निमित्त कतिपय विषयको अपुगता हुँदा हुँदै पनि माक्र्सवादको जगमा टेकेर फ्रान्सको पेरिस सहरका मजदुरहरुले पहिलोपटक व्यवस्थित तबरबाट विद्रोह गरेर पेरिस कम्युनको स्थापना भएको पनि आज १४५ वर्ष भएको छ । विश्वले हेर्न लायक सर्वहारावर्गको सत्ताको विरुद्ध सबै पुँजीवादी सत्ताले एकैपटक आक्रमण ग¥योे र सर्वहारावर्गले हा¥यो ।
पेरिसमा सर्वहारावर्गले प्राप्त गरेको राज्यसत्ता हारमा बदलिएता पनि विश्वमा वर्गसंघर्ष यो वा त्यो रुपमा जारी नै थियो । यसै सन्दर्भमा वर्गसंघर्षका विविध खाले उत्तारचढावसहित लेनिनको नेतृत्वमा भएको रुसी सर्वहारावर्गले १९१७ मा क्रान्ति सम्पन्न गरेको पनि ९९ वर्ष भएको छ । चिनियाँ सर्वहारावर्गको वर्गसंघर्षले १९४९ मा सत्ता हातमा लिएको पनि ६७ वर्ष भएको छ ।
पेरिसका सर्वहारावर्गले पुँजीपतिवर्गका विरुद्ध प्रहार गरेको पहिलो धक्का, रुसी सर्वहारावर्गीय तथा चिनियाँ सर्वहारावर्गीय क्रान्तिसम्म आइपुग्दा विश्व सर्वहारावर्गले क्रान्तिको वैचारिक हतियारको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद प्राप्त गरेको छ भने अनुभवका दृष्टिले फ्रान्स, रुस, चीनलगायत विश्वका एक दर्जनभन्दा बढी देशमा भएका सफल जनवादी तथा समाजवादी क्रान्तिहरु सर्वहारावर्गका अगाडि रहेका छन् ।
यतिबेला विश्वका सर्वहारावर्गका निमित्त मालेमावादको अजय वैचारिक हतियार र सफल क्रान्तिका उच्चतम अनुभव मात्र होइन, प्रतिक्रियावादी वर्गले मालेमावादका विरुद्ध गरेका संघर्ष, भ्रमका साथै कथित कम्युनिष्टको खोल ओढेका संशोधनवादले पैदा गरेको व्यापक भ्रम र समाजवादी क्रान्तिका हारहरुको अनुभव पनि छ ।
यी सबैखाले क्रान्ति र प्रतिक्रान्तिका बीचबाट पछिल्लो चरणमा पेरु, टर्की र भारतलगायतका देशहरुमा सर्वहारावर्गले आफ्नै अनुकूलतामा क्रान्तिहरु अगाडि बढ्दै गर्दा नेपालको सर्वहारावर्गीय आन्दोलन कम्युनिष्ट पार्टीको स्थापना भएको ४६ वर्षपछि ५२ साल फाल्गुन १ गते भीषण वर्गसंघर्षको उद्घोष हुन पुग्यो । दशवर्षको भीषण वर्गसंघर्षले प्रतिक्रियावादी वर्गको वर्गीय सत्तालाई एक प्रकारको चुनौती दिंदै जनमुक्ति सेनाको गठन, आधारइलाकाको निर्माण, स्थानीय जनसत्ताको गठन र परिचालनले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
१५ हजारभन्दा बढीको सहादत, हजारौको घाइते, हजारौंको वेपत्ता, हजारौको जेल यातना जस्ता कीर्तिमानहरुको भूमिका मुख्य कडी हो । नेपाली क्रान्ति यहाँसम्म पुग्नुमा परिवर्तनका पक्षधर जनताको उत्साहपूर्वक सहयोग र समर्थनको पनि त्यत्तिकै महत्व थियो भन्ने कुरालाई पनि बिर्सनु हुँदैन । विडम्बना के रह्यो भने जसले मुख्य नेतृत्वमा रहेर दशवर्षको भीषण वर्गसंघर्षको नेतृत्व ग¥यो, त्यही व्यक्तिले क्रान्तिले धरापमा पा¥यो र प्रतिक्रान्तिको नेतृत्व ग¥यो । सायद विश्वमा यस प्रकारका घटना विरलै मात्र पाइन्छ । क्रान्तिकारीहरुलाई भ्रमित पार्न “शान्तिपूर्ण क्रान्ति”को नारा दिएर युद्धको उत्कर्षलाई स्थगन गरेको आज दशवर्ष पूरा भएको छ ।
दशवर्षको नेपाली जनयुद्ध वर्ग दुश्मनको दमनको कारण हारमा बदलिएको नभएर स्वयम् जनयुद्धको नेतृत्वकर्ताको दिमागमा पैदा भएको वैचारिक विचलन तथा वर्ग रुपान्तरणका कारण नेपाली क्रान्ति एक प्रकारले हारमा बदलियो । विश्वभरिका सर्वहारावर्गलाई उत्साही बनाउन सफल रहेको नेपाली सर्वहारावर्गको वर्गसंघर्षको हारले विश्वभरिका क्रान्तिकारीहरुलाई निराश तुल्यायो । स्वयम् नेपालभित्र भने यसले चौतर्फी विचलन पैदा गराउन खोज्यो ।
वैचारिक, राजनीतिक, सांगठनिक तथा वर्गसंघर्षमा देखापरेको विचलनका विरुद्ध पार्टीभित्रका क्रान्तिकारीहरुले चलाएको वैचारिक वहस एकातिर विश्वभरिका र नेपालका पनि सबै क्रान्तिकारीहरुमा एकप्रकारको उत्साह, विश्वास पलायो भने वर्ग दुश्मनमा आफू पूर्णरुपमा सफल हुन नसकेकोमा एक प्रकारको निराशा, मुख्य नेतृत्व विचलनको पराकाष्ठामा पुगेका कारण क्रान्तिकारीहरुले आफ्नो वर्गको रक्षाका खातिर विद्रोहको झण्डा उठाएर पार्टीलाई पुनर्गठन गर्दै अगाडि बढायो । सर्वहारावर्गको मुख्य कार्यभार थियो त्यो ।
तर आज विश्व साम्राज्यवाद, मुख्यतः भारतीय विस्तारवाद तथा घरेलु प्रतिक्रियावाद मात्र होइन, माक्र्सवादको खोल ओढेका घोर संशोधनवादी, नवसंशोधनवादी तथा क्रान्तिकारी आवरणमा देखा परेका संशोधनवादीहरुबाट सच्चा क्रान्तिकारीहरुमाथि आक्रमण गर्ने काम हुँदै आएको छ । नेपालको सर्वहारावर्गीय आन्दोलन सकेसम्म समाप्त बनाउने, त्यति गर्न नसके त्यसलाई कमजोर बनाउन चौतर्फी भ्रम सिर्जना गर्ने काममा सबै प्रकारका नामधारी कम्युनिष्टहरुबाट हुँदै आएको छ ।
सर्वहारावर्गको सिद्धान्त बोकेका कम्युनिष्टहरु मात्र होइन, पँुजीवादी वर्गको सिद्धान्त बोकेका बुर्जुवा वर्गको पनि आफ्नो दर्शन, राजनीति अर्थशास्त्र, फौजी लक्ष्य हुन्छ । तर आफूलाई कम्युनिष्ट भन्ने नेपालका दर्जनौं पार्टीहरु न त सर्वहारावर्गको कम्युनिष्ट दर्शनप्रति प्रतिबद्ध छन् न त ठोस परिस्थितिको ठोस विश्लेषणसहित क्रान्तिप्रति प्रतिबद्ध नै छन् । तर कसैले क्रान्तिका कुरा गरेर जनतालाई ढाँटिरहेका छन् । कसैले दुश्मनका अगाडि घुँडा टेकेर केवल कम्युनिष्टको लोगो देखाएर जनतालाई ढाँटिरहेका छन् ।
कयौं वर्षदेखि सत्तामा बसेर बहुसंख्यक जनताका हक अधिकारलाई खोसेर सबै प्रकारका हक अधिकारको एकाधिकार उपयोग गरेर बसेको साम्राज्यवाद, पुँजीवाद वा सामन्तवादले जहिले पनि क्रान्तिकारी सिद्धान्त तथा राजनीतिक विचारलाई कमजोर बनाउन पार्टीभित्र रहेका अवसरवादीहरुलाई जानिदो वा नजानिदो ढंगबाट उपयोग गर्दै आएको कुरा विश्वको सर्वहारावर्गीय आन्दोलनमा सुनेको, पढेको त थियौं तर आज नेपालको सर्वहारावर्गीय आन्दोलनमा हामी आफैले देख्यौं र भोग्दैछौं ।
प्रतिक्रियावादी वर्ग दुश्मनसँग लड्न जति सजिलो छ, त्यो भन्दा बढी अप्ठ्यारो संशोधनवादीहरुसँग पर्दोरहेछ । अन्य संशोधनवादीहरुसँग लड्न जति सजिलो छ, त्योभन्दा बढी क्रान्तिका कुरा गर्ने विचारविहीनहरुसँग अप्ठ्यारो हुँदो रहेछ । सायद मानिसहरुको स्वभाव, शैली र सामाजिक परिवेशको विरासतको लामो प्रभावले पनि होला– गलत कुरा र भ्रमित विचारबाट जति छिटो प्रभावित हुन्छ, त्यति छिटो सत्य कुराले प्रभावित बनाउन सक्दैन । किन ? यो विचारणीय प्रश्न छ ।
नेपालमा मात्र होइन, विश्वस्तरमा नै सर्वहारा उत्पीडित वर्गको संख्या निकै ठूलो छ । एउटा सानो हिस्सामा रहेको उत्पीडकको हातमा राज्यसत्ता छ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली जनता परिवर्तन चाहन्छन् । त्यसमा पनि आमूल परिवर्तन । जतिवेला आन्दोलन वा क्रान्ति उत्कर्षमा पुग्छन्, त्यतिबेला कम्युनिष्टको खोल ओढेका संसदीय पार्टी होउन या प्रतिक्रियावादी वर्गको सेवा गर्ने पार्टी होउन सबै एक ठाउँमा पुग्छन् र आन्दोलन वा क्रान्तिलाई धोका दिन्छन् ।
जसले गर्दा इमान्दार जनतामा केही पर्न जान्छ भने अर्कोतिर प्रतिक्रियावादी वर्गका पार्टीहरु, कम्युनिष्ट खोल ओढेका पार्टीहरुले विभिन्न प्रकारका आश्वासन बाँड्ने र ढाँट्ने कार्यले एकथरी जनता अलमलमा परेका छन् । साम्राज्यवादी, विस्तारवादीहरुले उत्पीडनमा परेका जनता वा राष्ट्रलाई दमन, उत्पीडन र शोषण गरिराख्नका निमित्त ठूलो धनराशी खर्च गरेर एकातिर एनजिओ, आइएनजिओमार्फत् पढेलेखेका कथित् बुद्धिजीवीहरुलाई दलाल बनाएको छ ।
अर्कोतिर धर्मको नाममा उत्पीडनमा परेका जनतालाई व्यापक भ्रमित पारिरहेको छ । त्योभन्दा पनि अन्य बढी भ्रम सञ्चारमाध्यममा लगानी गरेर गरिरहेका छन् । समग्रमा भन्नुपर्दा राप्रपादेखि कांग्रेससम्मको प्रतिक्रियावादी खेमाका पार्टी नेताहरु मात्र होइन, आफूलाई कम्युनिष्ट भन्नेहरु माओवादी केन्द्रदेखि विप्लव माओवादीसम्मका नेताहरु भ्रम पार्ने, क्रान्तिलाई कमजोर पार्ने कार्यमा लागिरहेकै छन् । जसले गर्दा नेपालको सर्वहारावर्गीय आन्दोलन कमजोरजस्तो देखिन पुगेको छ ।
नेपाली सर्वहारावर्गको आन्दोलन कमजोर देखिएता पनि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को सही वैज्ञानिक र स्पष्ट विचारका आधारमा नेपाली जनताले आशा र भरोसा नगरेका होइनन्, किनकि, क्रान्तिकारी माओवादीले गरेको वर्ग विश्लेषण, सामाजिक परिवेशको विश्लेषण, क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा वस्तुसंगत रहँदै आएको छ ।
त्यसलाई कार्यान्वयन गर्ने इमान्दार नेताहरुको टिम प्राप्ति साँच्चै नै जनताले आशा र भरोसा गरेका पनि छन् । किनकि, पार्टी नेतृत्व वैचारिक हिसाबले परिपक्व, अनुभवी, वर्गदुश्मनप्रति आक्रामक र सर्वहारावर्गको मुक्ति, समानता प्राप्तिका लागि समर्पित क्रान्तिकारी माओवादीसँग छ । त्यसैले यो वैज्ञानिक विचारलाई अझै समृद्ध बनाउन र नेपाली क्रान्तिलाई पूरा गर्न समर्पित भएर लागौं । यही नै आजको आवश्यकता हो ।