भारतीय राष्ट्रपतिको भ्रमण : चाकरी र दलालीको उन्मादी पराकाष्ठा

भारतीय राष्ट्रपतिको भ्रमण : चाकरी र दलालीको उन्मादी पराकाष्ठा

नेपालका दुईवटा निकतम छिमेकी देशहरुमध्ये एक भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण पूरा भइसकेको छ । यही २०७३ कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आएका मुखर्जीले काठमाडौंका अतिरिक्त पोखरा र जनकपुरको समेत भ्रमण गरेका छन् । राष्ट्र एवम् सरकार प्रमुखहरुले आफ्ना छिमेकी तथा मित्र देश र राष्ट्रहरुको भ्रमण गर्ने गर्दछन् ।

त्यस प्रकारका भ्रमणहरु द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने वा प्रगाढ बनाउने, आपसी सहयोग आदान प्रदान गर्ने, व्यापार एवम् उद्योगधन्दाको वृद्धि एवम् विस्तार गर्ने लगायतका उद्देश्य र विषयहरुलाई समेटेर वा ध्यानमा राखेर हुने गर्दछन् । मुखर्जीको भ्रमण अन्य उद्देश्यले भन्दा पनि नेपालको संविधानको विषयलाई लिएर भारतीय सत्ताले त्यसबारे अपनाएको दृष्टिकोण अर्थात् भारतीयहरुकै भनाइमा जानकारीमा मात्रै लिइएको भन्ने र त्यससँग सम्बन्धित भएर गरिएको अघोषित नाकाबन्दीका कारणबाट विग्रन र विथोलिन पुगेको नेपाल–भारत सम्बन्धलाई मल्हमपट्टि लगाउने उद्देश्यले भएको थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

मुखर्जीको भ्रमणका सम्बन्ध र दौरानमा नेपालको राज्य र सरकारका तर्फबाट भएका काम कारबाही र हर्कतहरुका बारेमा व्यापक आलोचना र विवेचनाहरु गरिएका र भएका छन् । यहाँ त्यस विषयसँग सम्बन्धित भएर संक्षिप्त चर्चा गर्न खोजिएको छ ।

आफ्ना छिमेकी एवम् मित्र देशका राष्ट्र वा सरकार प्रमुखलाई आफ्नो देशमा भ्रमण गर्न आमन्त्रण गरेपछि अतिथीको आतिथ्यताका लागि यथोचित ढंगले सत्कार, सम्मान, शिष्टाचार र सुरक्षा दर्शाउनु र प्रदान गर्नु पर्दछ । र तत्प्रयोजनका लागि उचित र आवश्यक सबै व्यवस्था मिलाउनु बाञ्छनीय कार्य नै हो । किनभने अतिथी बोलाउनुको तात्पर्य स्वागत र सम्मान व्यक्त गर्नकै लागि हो । र, त्यस प्रयोजनमा कुनै प्रकारको कमिकमजोरी र त्रुटी रहन नपाओस् भन्नेतर्फ आमन्त्रण गर्ने पक्ष उत्सुक, सजग र सचेत रहनुपर्ने कुरा स्वतः स्पष्ट छ ।

तर, हालै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका सन्दर्भमा नेपाल सरकारले मुखर्जीको आगमन हुनुलाई महान राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गर्न पुगेको छ । त्यस दौरानमा सरकारले राष्ट्रव्यापी विदा घोषणा गर्ने निर्णय ग¥यो र आफ्ना विदेशस्थित राजदूताबास र कुटनीतिक नियोगहरु समेत बन्द गर्ने निर्णय ग¥यो ।
यसप्रकारको निर्णय गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो निर्णयलाई कुनै पनि अर्थमा सहि मान्न सकिदैन । किनभने, राष्ट्र वा सरकार प्रमुखहरुको भ्रमण आदान–प्रदान गर्ने कार्य आवश्यकता अनुसार भैरहन्छ र त्यस्तो भ्रमण हुनु स्वभाविक हुन्छ । त्यसैगरी नेपाल सरकारले आफ्ना विशिष्ट अतिथिको सवारी आवागमन र सुरक्षालाई कारण बताउँदै मुखर्जीले भ्रमण गरेका स्थानहरु, जस्तै ः काठमाडौं, पोखरा र जनकपुरमा अघोषित प्रकारको निषेधाज्ञा(कफ्र्यू) नै लगाउने काम भएको छ । र राज्य र सकारका तर्फबाट प्रदान गरिने जनसरोकारका सबै सेवा तथा कार्यहरु बन्द गरिएको छ ।

Pari Thapaजसले गर्दा आम नेपाली नागरिकहरुको दैनिक जीवन प्रभावित होइन अस्तव्यस्त नै बन्न पुग्यो । त्यस क्रममा सर्वसाधारण जनताले आफ्नो आवागमनमा ठूलो कठिनाई र समस्या भोग्नु प¥यो भने सुरक्षाको कारण देखाएर घरको झ्याल ढोका समेत बन्द गरेर बस्नुपर्ने अवस्था सिर्जना गराइयो भने राज्य र सरकारका संचालकहरु त्यस्तो स्थिति सिर्जना गर्न सफल भएकोमा गौरवान्वित हुँदै आनन्दित मुद्रामा मुस्कुराइरहेका थिए ।

यस सन्दर्भमा अर्को रोचक प्रसंग के पनि छ भने कुरा चलेको तर अहिलेसम्म तय भैनसकेको चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणमा समेत मुखर्जीको भ्रमणमा जस्तै राष्ट्रिय विदा गर्ने निर्णय भएको सुनिएको छ । सरकारले अपनाएको यस प्रकारको रवैयाको जनस्तरबाट व्यापक आलोचना र विरोध भएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीको सुझाव अनुसार त्यसो गरेको भनेका छन् भने भण्डारीले आफूले त्यस्तो सुझाव नदिएको बताएकी छिन् ।

राज्य र सरकार सञ्चालनको जिम्मेवारी लिएर बसेका व्यक्तिहरुका तर्फबाट यस प्रकारका प्रतिटिक्काटिप्पणी सुझाव आउनु स्वयम् लज्जास्पद र हाँस्यास्पद विषय हुन गएको छ भने राज्य, सरकार र तिनका संचालक भनिएकाहरुको बचकनापनलाई पनि उदाङ्गो पारिदिएको छ । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणका सन्दर्भमा नेपालको राज्य र सरकारले जुन ढंगको हर्कत गरेको छ, त्यसले यहाँको राज्य र सरकारको देश र जनताका हितका पक्षमा गर्नुपर्ने कुनै काम र जिम्मेवारी नै नभएको जस्तो अवस्था देखाउन पुगेको छ ।

अहिले हामी एक्काइसौ शताब्दीको विश्वमा आइपुगेका छौं । र देश एवं राष्ट्रहरुका बीचमा शक्ति, पुँजी र प्रभावजस्ता विषयहरुमा मात्र प्रतिस्पर्धा भइरहेको छैन, बरु देश एवम् राष्ट्रहरु कति सभ्य र सुसंस्कृत हुँदै गएका छन् भन्ने कुराको समेत मापन र प्रतिस्पर्धा हुँदै गएको छ । त्यसरी हेर्दा नेपाल राज्य र सरकारले अतिथि सत्कार र सुरक्षा प्रदान गर्ने नाममा जेजस्तो क्रियाकलाप दर्शादएको छ, त्यो एकप्रकारको असभ्यताको नै उदाहारण हो ।

यदि राज्य र सरकारले अतिथिको सत्कार र सुरक्षाको नाममा सम्पूर्ण देश र राज्ययन्त्रलाई नै ठप्प पार्ने निर्णय गर्दछ भने त्यो सामन्ती एवम् बर्बर संस्कार र संस्कृतिको द्योतक हो भने नेपाली जनता र नागरिकलाई हेपेको र बेवास्ता समेत गरिएको हो । जुन आधुनिक राज्य प्रणालीमा सोच्न नसकिने कुरा हो । अर्का शब्दमा भन्नुपर्दा राज्य प्रदत्त सेवा सुविधाहरुलाई सामान्य ढंगले व्यवस्थापन गर्ने असक्षमताको ज्वलन्त उदाहारणसमेत हो ।

मुखर्जी भ्रमणका दौरानमा नेपाल राज्य र सरकारका तर्फबाट निर्णित र सृजित परिघटनाहरु यत्तिकै भएका भने होइनन् । त्यसको मुख्य कार्यकारण भनेको नेपालका शासकवर्ग वा सत्तासीन र सत्तान्मुख व्यक्ति एवं समुहहरुमा नैसर्गिक चारित्रिक गुणका रुपमा निहीत रहेको सामान्यतः अन्तर्राष्ट्रिय शक्ति र विशेष गरेर भारतीय सत्ता र सत्तासिन वर्ग(स्टाबलिस्मेन्ट) बाट आशिर्वाद प्राप्त गर्नका लागि गरिएको नाङ्गो प्रकारको दलाली, चाकरी र चाप्लुसीको उन्मादी पराकाष्ठा नै हो ।

गत तीन दिनसम्मको गतिविधिले त्यस प्रकारको दलाली र चाकरीको उन्मादलाई पराकाष्ठामा नै पु¥याएको छ भन्नु अत्युक्ति नहोला । नेपाली कांग्रेस र नेकपा (एमाले) र तिनका नेतृत्वले आफ्नो सत्तास्वार्थ पूरा गर्नका लागि यस्ता कार्य गर्न कुनै कसर बाँकी नराखेको जगजाहेरै छ । अहिले आएर त्यसप्रकारको दौडको प्रतिस्पर्धामा नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वले पनि अब्बल दर्जाको कौशलता देखाउन पछि नपरेकोमा शंका गर्नुपर्ने ठाउँ छैन ।

यतिखेर नेपाली जनता र नागरिकले विभिन्न माध्यममार्फत् राज्य, सरकार र तिनका संचालकका रुपमा रहेका व्यक्ति एवं पार्टीका बारेमा जुन ढंगले आलोचना र विरोध जनाएका छन्, त्यो सहि छ र स्वागतयोग्य छ । यसका साथै सम्पूर्ण देशभक्त एवं स्वाभिमानी नेपाली जनता र नागरिकहरुले कथित क्रान्तिकारी र क्रान्तिकारी व्यक्ति र पार्टीका खोल ओडेर राज्य सत्तामा हालीमुहाली गर्न पुगेका राष्ट्रघाती र जनघाती तत्वहरुलाई नङ्ग्याउन र धरासायी बनाउन अझ सशक्त र जुझारु ढंगले अगाडि बढ्न आवश्यक छ ।

हाम्रो आफ्नै देशको राज्य र सरकारमा यस प्रकारका विदेशी शक्तिका दलाल र चाकरीबाजहरुको रजाइँ चलेका कारण विगत लामो समयदेखि देशमा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता थिचोमिचोमा पर्दै आएको छ । मुखर्जी भ्रमणका दौरानमा जे जस्तो चर्तिकला तिनिहरुले देखाएका छन्, त्यो त्यही ऐतिहासिक परिघटनाहरुका नवीनतम कडी मात्र हो, तर पछिल्लो भने होइन । किनभने जबसम्म त्यसप्रकारका तत्वहरुलाई नेपाली जनताले सत्ताच्यूत गरी पाखा लगाउन सक्ने छैनन, तबसम्म यस्ता परिघटनाहरुको नयाँ नयाँ प्रकरण र संस्करणमा पुनरावृत्ति भइरहने कुरा सतप्रतिशत नै सुनिश्चित छ ।

हामीले आफ्नो देशको स्वाधीनता र सम्मानलाई उचो राख्नका लागि छिमेकी र मित्रहरुसँगको सम्बन्धलाई पारस्परिक सम्मान र समानताका आधारमा अगाडि बढाउन दृढतापूर्वक उभिनसक्नु पर्दछ । तर नेपाल राज्यको करिब अढाइसय वर्षको इतिहासमा शासकवर्ग र राज्य संचालकहरुले देश र राज्यलाई कुनै न कुनै ढंगले निम्छरो सावित गराउने कार्य गर्दै र भूमिका खेल्दै आएको कुरो ऐतिहासिक तथ्यहरुबाटै प्रमाणित भएको छ ।