लक्ष्मीपूजाको रात छोराले गरे आमाको हत्या

लक्ष्मीपूजाको रात छोराले गरे आमाको हत्या

गाईघाट । उदयपुरको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमाको हत्या गरेका छन् ।

बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरी चौकी बेलस्रोतले जनाएको छ ।

कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गरेको प्रहरीको भनाई छ ।

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा राखिएको छ ।