बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य परि थापाले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्नु नैं गलत भएको बताएका छन् । उनले कार्कीलाई महाअभियोग लगाएर कारवाही गर्नु स्वभाविक भएपनि नियुक्ति प्रक्रिया नैं गलत भएको बताए ।
पार्टीको पूर्वी मगराँत राज्य कार्यालयको विस्तारित भेलालाई पाल्पाको तानसेनमा बुधबार सम्बोधन गर्दै नेता थापाले कार्कीलाई महाअभियोग लगाएर कारवाही गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । पार्टी केन्द्रीय कार्यालयका सदस्य समेत रहेका नेता थापाले आफूहरुको गलत कार्य बाहिर ल्याउने डरले कार्कीलाई महाअभियोग लगाउनु पाखण्डीहरुको नौटंकी भएको टिप्पणी गरे । कार्की ०६२÷०६३ को जनआन्दोलन दबाउने र भ्रष्टाचारी भएको स्मरण गर्दै नेता थापाले आफ्नो पार्टी सुरुदेखि नै कार्की नियुक्तिको विरोधमा रहेको बताए । पूर्व सांसद समेत रहेका उनले प्रधानमन्त्री प्रचण्डले भारतमा गएर २५ बुँंदे सम्झौता गर्र्नु नेपालका लागि घात भएको दावी गरे ।
पार्टी केन्दीय सचिवालय सदस्य के.बी.गुरुडको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य निलबहादुर पुन, भीमबहादुर श्रीस, मानध्वज श्रेष्ठ, धनेश्वर पोख्रेल लगायतले बोलेका थिए ।