काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाल र भारतबीचमा विगतमा भएका सहमति तथा सम्झौताका विषयमा छलफल हुनेछ ।
नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले नेतृत्व गर्नेछन् ।
बैठकमा दुवै देशका अर्थ वाणिज्य, उद्योग, जलश्रोत, उर्जा मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् । बैठक विगतमा भएका दुई पक्षीय सहमति र सम्झौताको चार बृहत् विषय कार्यान्वयमा केन्द्रित हुने जनाइएको छ ।
सीमा विवाद एवं सीमाको व्यवस्थापन, व्यापार र वाणिज्य, उर्जा एवं जलश्रोत तथा संस्कृति तथा सञ्चारलगायतका विषयमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल हुनेछ ।
बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री महत नयाँ दिल्ली पुगिसकेका छन् । मन्त्रीस्तरीय बैठकका लागि बुधबार दुवै देशका विदेश सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरुबिच छलफल भएको थियो ।