श्रीमान् महोदय !
आज म तपाइँको इजलासमा आफै उपस्थित भएको छु । खासमा मेरो यहाँ आउने मनसाय थिएन र म आउनु पर्ने ठाउँ पनि यो थिएन । तपाइँहरूले अचाक्लीसँग मेरो खेदो खनेको हुनाले म यहाँ आउनु पर्ने बाध्यता आइलाग्यो । सकेसम्म म यहाँ तपाइँहरूलाई विवादमा पार्न चाहन्नथेँ । त्यसैले तपाइँहरूले मेरा नाममा तामेल गरेको म्याद नबुझेको हुँ । तपाइँहरूलाई सजिलो पार्नका लागि नै म विदेश गएर म्याद बुभ्mने समय टाल्न खोजेको थिएँ ।
मैले आफैँ म्याद नबुझेपछि तपाइँहरूले कुरा बुझ्नुपर्दथ्याे । यसका पछाडि धेरै ठूलो कारण छ भनेर, तर तपाइँहरूले कुरा बुझ्नु भएन । या त बुझ पचाएर मेरो पिछा गरेर खेदो खन्नु भयो । म अचम्ममा परेको छु । मैले नेपालको नियम, कानून, संविधान वगेराबगेरा मान्नु जरुरी छैन । किनकि म नेपालका कुनै नेता वा तपाइँहरू कसैको आशिर्वादले यो पदमा पुगेको होइन । त्यसैले मैले तपाइँहरू कसैको आदेश मान्नु जरुरी पनि छैन । म विशेष प्रकारको धातुले बनेको मान्छे हुँ । कम्निस्हरूले भन्ने गर्छन् नि हामी विशेष धातुले बनेका हौँ भनेर, त्यस्तै म झनै अनौठो धातुले बनेको मानिस हुँ ।
मलाई नेपालको कुनै नियम, कानून र संविधानले छुँदैन । तपाइँहरूले ठान्नु भएको होला कि म अख्तियारको मान्छे हुँ, त्यसो होइन । म अख्तियारको होइन, अख्तियार मेरो हो । तपाइँहरू भ्रममा हुनुहुन्छ । त्यसैले मेरा विरुद्ध गफ गर्ने अखाडामा महाअभियोगको प्रस्ताव ल्याउनु भयो र यता सर्वोच्चालयमा पनि मुद्दा चलाउनु भयो । यो तपाइँहरूले महाभूल गर्नु भयो । यसले अब महाभूकम्प ल्याउनेवाला छ, हेर्दै जानुहोला । यो भूकम्पले ककसलाई ढलाउँछ ।
गफ गर्ने अखडा र सर्वोच्च भन्दा त अख्तियार ठूलो हो नि । मैले चाहेँ भने ठूलठूला माछालाई पनि अख्तियार दुरूपयोग गरेको आरोप लगाउन र भ्रष्टाचारको मुद्दा लगाएर ठिँगु¥याउन सक्छु र मुद्दा लगाइदिन सक्छु । त्यो काम गर्न म बाहेक सर्वोच्च होस् अथवा गफाडी थलो र सरकार होस् कसैले पनि सक्दैन । मलाई अख्तियारको प्रमुख बनाउँदा प्रभुको आदेस पालना गरेर ठूला दलका ठूला नेताहरूले गुन लगाएको हुनाले मैले उनीहरूलाई ठूला माछा भनेर छोडेको थिएँ । मलाई यी पत्रकार भन्नेहरूले साना माछा मात्रै पकडिस् ठूला माछा छोडिस् भनेर कम्ता खेदो खने । त्यो पीडा पनि सहेर मैले ठूला माछालाई छोडेको थिएँ । तर आज मलाई नै यसरी खेदेर निकै दुःख दिए ।
श्रीमान् ज्यू !
यतिखेर मेरा विरुद्धमा गफ गर्ने अखडामा महाअभियोगको मुद्दा हालिएको छ । यता सर्वोचलयमा मेरो योग्यताका बारेमा मुद्दा हालिएको छ । एउटै मान्छेलाई उता र यता दुईतिर किन मुद्दा हालेको ? मेरो योग्यता जाँच्ने र मेरा गल्ती कोट्याउने तपाइँहरू को हो ? कानून भनेको त सोझासिधा, गरिब, निमुखा र कमजोर मान्छेहरूका लागि पो बनाइएको हुन्छ ।
ठूलाठालु र अझ म जस्ता प्रभुहरूको दूत जस्ता मान्छेका लागि कानून, नियम र संविधानले ठटाउन खोज्ने ? यो सोह्रैअाना आना गल्ती काम गर्दै हुनुहुन्छ तपाइँहरू । म भन्दै छु प्रभुहरूले हात अघि बढाउनु भन्दा पहिला नै तपाइँहरूले पुनर्विचार गर्नुस् । मेरा विरुद्धका मुद्दामामिलाको लफडामा नफस्नुस् । आआफ्नो जागिरको बारेमा चिन्ता गर्नुस् ।
म पदमा आउने र छोड्ने कुरा तपाइँहरूको आदेश र नियमले हुने कुरा होइन । प्रभुले विशेष जिम्मेवारी दिएर पठाएकाले त्यो विशेष काम अझै पूरा हुन सकेको छैन । बिचैमा छोडेर जान मलाई मिल्दैन । प्रभुले फिर्ता नबोलाउँदासम्म कसैका बाउको दाल गल्नेवाला छैन । मेरो पावर कति छ भन्ने कुरा त सुप्रिमोलाई सोध्नुहोला ।
उहाँले सभामुख महोदयलाई आदेश दिएर मेरा विरुद्धको मुद्दाका बारेमा बहस गर्नै रोक्नु प¥यो । म विदेश भएका बखत गफाडी अखडामा हालेको मुद्दाका बारेमा बहस गर्ने योजना म देशाँ फर्खने बित्तिकै रोक्नु प¥यो । सुप्रिमो र उखानप्रसादले आफ्ना ठिटाशरूलाई उकासेर मेरा विरुद्ध मुद्दा हाल्न लगाए, अहिले कट्टुमा तुक्र्याउँदै काँपेर तालु सुकाउने अवस्था सिर्जना भएको छ । हेर्दै जाऊँ अझ केके हुन्छ ।
अहिले त मेरा पक्षमा गुजराती भैयाका दूत नै लागि परेर यी मुद्दामामिलालाई ढिसमिस पार्न कुदारेकुद गरेका छन् । यो कुरा प्रभुहरू आफैँले निर्देशन गर्नु प¥यो भने तपाइँहरूको हविगत के होला ? ठूला दलहरू यथावत अवस्थामै रहौँला भन्ने नसोचे हुन्छ । चारतारेमा त खैलावैला सुरु भैसक्यो । अब सूर्यवालामा पनि खैलावैला सुरु हुन्छ । त्यसपछि सुप्रिमोको हालत के हुने हो आफैँ थाहा हुन्छ । पहिला कट्वालेले जागिरबाट हात धुन पठाए, अहिले मेरा कारण हात धुनुपर्ला नि ख्याल गरे हुन्छ ।
म अख्तियारमा आउँदाखेरी ठूला माछा र मेरा बिचमा जेन्टिलमेन एग्रिमेन्ट भएको थियो । मैले उनीहरूलाई नछुने र उनीहरूले पनि मेरो काममा दखल नगर्ने । आज उनीहरूले सम्झौता तोडे । अब म पनि छोड्नेवाला छैन । हिजका दिनमा मैले उनीहरूलाई बचाउन धेरै कोशिस गरेको हुँ । अब म बचाउन सक्तिन । प्रभुको इच्छा के हुन्छ त्यसैअनुसार निर्णय हुन्छ ।
वर्गीय समाजमा सबै कुरा वर्गीय हुन्छ भन्ने कुरा आज वर्गका वकालत गर्नेहरूले नै विर्सेजस्तो छ । नेपालका ठूला माछाहरू र हामी एउटै वर्गका भएका छौँ । हिज क्रान्तिकालमा सर्वहारा वर्गका कुरा गर्नेहरू पनि अहिले सत्ताका चास्नीको स्वाद लिएपछि हाम्रै वर्गमा रूपान्तरण भएका छन् । चाहे झापाली साथीहरू होउन, चाहे गोर्खाली, रोल्पाली वा नाराणीवासी होउन् । सबै एउटै समूहमा छौँ ।
एउटै समूहमा आएपछि आफ्नै वर्गका विरुद्धमा यत्रो अन्तरघात गर्ने ? यो सह्य कुरो नै होइन । जजसले मेरो समर्थन गरेर प्रभुहरूको आदेश पालना गर्न लम्पसार भएका थिए, आज तिनीहरू कसरी पानी माथि ओभानो हुन सक्छन् ? हिज मलाई के भनेर ठिक भने, आज के भनेर बेठिक भन्न खोज्दै छन् ? म पनि हेरौँला । यो त ट्रेलर मात्रै हो वास्तिविक फिलिम त अब सुरु हुन्छ । अब लाग्ने फिलिमले ककसको चिलिम फकिन्छ हेर्दै जाउँ । मेरो बयान यत्ति हो बाँकी लेनादेना पछि गरौँला । जय प्रभु ।
६ कार्तिक २०७३
kailubraha73@gmail.com