लोकमानमाथिको महाअभियोग संसदमा प्रवेश, पर्सी छलफल

लोकमानमाथिको महाअभियोग संसदमा प्रवेश, पर्सी छलफल

nepal-parliament-protest BICCकाठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव व्यवस्थापिका–संसदमा औपचारिक रुपमा पेश भएको छ ।

गत बुधबार संसद सचिवायलमा दर्ता गरिएको महाअभियोगको प्रस्तावले आइतबार संसदमा प्रवेश पाएको हो ।

संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै त्यसमाथि ९ गते दिउँसो ३ बजेलाई छलफलको समय तोकेकी छन् ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोगको प्रस्ताव संसदमा पेश हुने बताइएपनि संसद बैठक नै स्थगित गरिएको थियो । प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ ।

समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिएर प्रष्टिकरणका लागि मौका दिनेछ । सो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त हुने रायसहित प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत गरिन्छ ।

सो प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको खण्डमा उनी स्वतः पदमुक्त हुनेछन् । व्यवस्थापिका संसदमा माओवादी केन्द्र र विपक्षी एमालेका १ सय ५७ सांसदले कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।