५ कात्तिक, २०७३ । ललितपुरको इमाडोलमा प्राकृतिक ग्यासको सफल परीक्षण गरिएको छ । शुक्रबार नेपाल सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशीले पाइपलाइनबाट आएको ग्यास चुल्हो बालेर प्राकृतिक ग्यासको सफल परीक्षण गरे ।
खुला चौरमा चार इन्चको पाइप गाडेर पानी तानिएको छ । पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प राखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ । त्यसलाई फिल्टर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ । यसरी जमिनमुनिको ग्यास पाइपबाट तानेर बालिएको छ ।
जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । विभागले ३५ लाखको लागतमा मेसिन जडान गरेर जमिन मुनिको ग्यास तानेर परीक्षण गर्दै आएको थियो ।
२७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो ।