काठमाडाैं । सत्ता छाडेपछि पहिलो सार्वजनिक भाषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई उपेक्षा गरे विद्रोह गर्ने चेतावनी दिएका छन् ।
पशुपतिस्थित वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन गर्दै ज्ञानेन्द्रले उपेक्षाले विद्रोह निम्त्याउने चेतावनी दिएका हुन् ।
हिन्दु धर्म तथा त्यसको दर्शनको व्यवहारभित्र घुसेको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने र राष्ट्रमा असन्तुलन आए उपेक्षा जन्माउने र त्यसले विद्रोह निम्त्याउने उनको चेतावनी थियो ।
अहिलेका राजनीतिक दलहरुको गतिविधिप्रति असन्तुष्टी जनाउँदै शाहले राजनीतिक हस्तक्षेप, जनताको निराशा आफ्ना लागि अभिशापसिद्ध भएको तर्क गरे ।
हिन्दुवादी संगठनबाटै सम्मेलन बहिष्कार
विश्व हिन्दु महासंघको आयोजनामा भएको यो सम्मेलन केही हिन्दुवादी संगठनहरुले भने बहिष्कार गरेका छन् । विश्व हिन्दु महासंघलाई कथित महासंघ भन्दै उनीहरुले हिन्दुत्वको ठेकेदार भनाउने विश्व हिन्दु महासंघकै कारण मुलुक धर्म निरपेक्ष भएको उनीहरुले आरोप लगाएका छन् ।
सम्मेलनको पूर्वराजा ज्ञानेन्द्रले गरेको उद्घाटनलाई पनि बेमौसमी बाजा भन्दै राष्ट्रिय शिवसेना पार्टीले सम्मेलन बहिष्कार गरेको जनाएको छ । शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।