काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसको समर्थन गर्ने या विरोध भन्ने विषयमा काँग्रेसमा द्विविधा उत्पन्न भएका बेला स्वास्थ्यमन्त्री गगन थापा समर्थनमा उभिएका छन् ।
काँग्रेस नेता तथा स्वास्थ्यमन्त्री थापाले महाअभियोग दर्ता गर्ने सबैलाई धन्यवाद दिँदै यसलाई ऐतिहासिक गल्ती सुधार गर्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्चाल ट्विटरमा ट्विट गर्दै थापाले यो पटक महाअभियोग लगाएर लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखबाट हटाउन चुक्न नहुने बताएका हुन् ।
काँग्रेसका शीर्ष नेताहरुले नै लोकमानविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावबारे अनविज्ञता र आश्चर्य प्रकट गरिरहेका बेला थापाको यस्तो भनाई आएको हो ।
काँग्रेसभित्रै लोकमानमाथिको महाअभियोगको पक्षमा उभिनुपर्ने आवाज बलियो छ । तर, पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु भने मौन बसेका छन् ।
महाअभियोग पारित गर्न सहयोग माग्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई देउवाले आफूलेमात्रै निर्णय गर्न नसक्ने जवाफ दिएर फर्काइदिएका थिए ।





























