३० असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस वर्षको दशै अवधिमा तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको सङ्ख्या १७ तथा सामान्य घाइते २९३ जना छन् । गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु, ६ गम्भीर घाइते र एक सय ११ जना सामान्य घाइते भएका थिए ।
ट्राफिक प्रहरीले दशैंका अवधिमा १४ हजार सवारी साधनलाई कारबाही गरेको छ । गत वर्ष यस अवधिमा तीन हजार पाँच सय ३२ मात्रै कारबाहीमा परेका थिए । मापसे, ट्राफिक नियम उल्लङ्घन र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दशैं अवधिमा कारबाहीमा परेका हुन् । मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेका छन् । त्यस्तै, बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिएको तथा दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । तुलनात्मक रुपमा गत वर्षको असोजभन्दा यस वर्ष सवारी दुर्घटना बढी भएको छ ।