चाँडै नेपालको भ्रमण गर्ने चिनियाँ राष्ट्रपतिको आश्वासन

get_img

३० असोज, २०७३ । राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच गोवास्थित होटल लिलामा करिब ४० मिनेट भएको भेटवार्तामा उपयुक्त समय मिलाएर चाँडोभन्दा चाँडो नेपालको भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सि जिनपिङले आश्वासन दिएका छन् ।

नेपालले नाका खोल्ने र कनेक्टिभिट बढाउने प्रस्ताव राखेपछि चिनियाँ राष्ट्रपतिले चाँडो भन्दा चाँडो कनेक्टिभिटिको काम पनि अगाडि बढाउने जवाफ दिएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच नेपालको विकास निम्ति चीन, नेपाल र भारतबीच त्रिपक्षीय समझदारी निर्माण गरी अगाडि बढ्ने छलफल समेत भएको स्रोतले जनायो ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ब्यापार तथा पारबहन सम्झौता लगायतका १० बुँदे समझदारी गरेका थिए । गोवा भेटमा प्रचण्डले सीलाई अघिल्लो सरकारले चीनसँग गरेका व्यापार तथा पारबहन लगायतका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग नेपालले भारत र चीन दुवै छिमेकीसँग समदुरीको सम्बन्ध राख्ने जनाउँदै नेपालले एक चीन नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने भनाइ भने राख्न छुटाएनन् ।