२९ असोज, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले भारतसँग नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे सहमति(संयुक्त वक्तव्य)ले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नमा भूमिका खेलेको बताएका छन् । दक्षिणी भारतको गोवा सम्मेलनमा पर्यवेक्षकको हैसियतमा सहभागी हुन पुगेका प्रम दाहालले चिनियाँ राष्ट्रसित सि जिनपिङलाई नेपाल भ्रमण गराउन भूमिका खेल्ने बताइरहँदा नेता गजुरेलले यस्तो दावी गरेका छन् ।
शनिबार मूलबाटो डटकमसँग कुराकानी गर्दै उनले भने, “सिआइसिआरका प्रमुखलगायत धेरैले चिनियाँ राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरेका थिए । नेपाल सरकारका प्रधानमन्त्रीका विशेष दूत बनेर चीन गएका महराले पनि सिले भ्रमण गर्ने निश्चित भएको भनेका थिए । तर भारत भ्रमणमा जाँदा प्रचण्डले २५ बुँदे सम्झौता गरेपछि वातावरण प्रतिकूल रहेको भन्दै भ्रमण स्थगित गरियो ।” छिमेकीहरुसँग कुटनीतिक सन्तुलन कायम राख्न नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रम दाहालले सिको भ्रमण गराउन एक सुत्रीय एजेण्डा लिएर गोवा सम्मेलनमा गएका छन् ।
२५ बुँदेले नेपालले अपनाउँदै आएको असंलग्नता र पञ्चशीलमा आधारित परराष्ट्र नीतिलाई खत्तम पार्दै नेपाललाई भारतको सुरक्षा र परराष्ट्र नीतिको छाताभित्र पु¥याएको नेता गजुरेलले दावी गरे । मोदीले प्रधानमन्त्री बनाइदिएकोले प्रचण्डले सबै काम मोदीलाई सोधेर गर्ने हुनाले सिको भ्रमण पनि त्यसैमा भरपर्ने दावी गरे । देशलाई भूटानीकरण गर्ने र स्वाधीन र स्वतन्त्र हैसियतबाट च्यूत गर्ने हुनाले यसलाई खारेज गरिनुपर्ने गजुरेलले जोडदार मत जाहेर गरे ।
२५ बुँदे राष्ट्रघातका विरुद्धमा अब कात्तिक नौंबाट देशभक्तिपूर्ण सडक आन्दोलन गर्ने पनि उनले बताए । सम्पूर्ण देशभक्त र वामपन्थी शक्ति र व्यक्तिहरुसँग छलफल भइरहेको र आन्दोलनको पक्षमा ठूलै जनमत तयार भएकोले आन्दोलन सशक्त हुने पनि गजुरेलले दावी गरे ।
एक फरक प्रसंगमा नेता गजुरेलले भने, ‘संविधान संशोधनले द्वन्द्व निम्त्याउँदैछ ।”