काठमाडौं । ग्लोबल हंगर इन्डेक्सले गरेको सर्वेक्षण अनुसार भारत र पाकिस्तानमा नेपालमा भन्दा धेरै भोकमरीको समस्या देखिएको छ । ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको २०१६ को तथ्यांक अनुसार दक्षिण एशियामा भारत र पाकिस्तानमा सबैभन्दा बढी भोकभरी रहेको छ । हरेक वर्ष ताजा आँकडा निकाल्दै आएको ग्लोबल हंगर इन्डेक्सले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ११८ देशको सूचिमा पाकिस्तान १०७ नम्बरमा छ भने भारत ९७ औं स्थानमा छ । नेपाल ७२ औं स्थानमा छ भने म्यानमार ७५ औं स्थानमा छ । रिपोर्ट अनुसार श्रीलंका ८४ औं स्थानमा छ भने बंगलादेश ९० औं स्थानमा छ ।
यस्तो सर्वेक्षणको सुरुवात इन्टरनेश्नल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले गर्दै आएको छ । २००६ मा सबभन्दा पहिले वेल्ट हंगरलाइफ नामक एक जर्मन स्वयम्सेवी स्थानले यस्तो सर्वेक्षण गरेको थियो । २००७ मा यस अभियानमा आयरलैण्डको एक स्वयम्सेवी संगठन पनि समावेश भयो । यसपटकको सर्वेक्षणमा संयुक्त राष्ट्रसंघको प्रस्तावित २०३० को एजेण्डा पनि सहभागी भएको छ । जसले विश्वमा जिरो हंगर बनाउने लक्ष्य राखेको छ ।
ग्लोबल इन्डेक्स स्कोर जुन देशमा बढी छ, त्यो देशमा भोकमरीको समस्या धेरै छ भन्ने जनाउँछ ।